• २३ चैत २०८२, सोमबार

बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय खुसी

blog

रौतहटको माधवनारायण नगरपालिका–६, माधोपुरमा सञ्चालनमा आएको बर्थिङ सेन्टर । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 

रौतहट, चैत २३ गते । जिल्लाको माधवनारायण नगरपालिका-६, माधोपुरमा  बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका स्थानीय खुसी भएका छन् । 

वर्षौँदेखि प्रसूति सेवा लिन यहाँका महिलालाई  छिमेकी पालिका गढिमाई नगरपालिकाको धरमपुर वा दुर्गाभगवती गाउँपालिकाको गगापिपरामा रहेको बर्थिंङ सेन्टरमा जानु पर्ने बाध्यता रहेको थियो । 

यहाँ बर्थिङ सेन्टर सञ्चालनमा आएपछि माधवनारायण नगरपालिकाका माधोपुर, लौकाहा, पिपरा रजबडा, गढोका महिलालाइ सहज भएको छ । यससँगै गढिमाई नगरपालिका वडा नं. ६ सिङ्गारवनका स्थानीयलाईसमेत प्रसूति सेवा लिन पायक भएको गढिमाई–६ का स्थानीय दिनेश यादवले बताउनुभयो । 

माधवनारायण नगरपालिकाको खेसरहियामा बर्थिङ सेन्टर सञ्चालनमा रहेतापनि पालिका कार्यालय रहेको वडा लगायत छिमेकि वडालाइ त्यहाँ जान बढी समय लाग्ने गरेको कारण यहाँका महिलालाई प्रसूति सेवाका लागि अन्य ठाउँमा रहेको बर्थिंङ सेन्टरमा जानु पर्ने बाध्यता रहेको थियो । 

आफ्नै पालिकाको खेसरहियामा रहेको बर्थिङ सेन्टर आठ किलोमिटर  टाढा रहेकोले  पाँच वटा वडालाई पायक पर्ने ठाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको हो ।

आफ्नै गाउँठाउँमा प्रसूति सेवा पाउनुपर्ने स्थानीय महिलाको वर्षौँको माग सम्बोधन भएको माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताउनुभयो ।

बर्थिङ सेन्टरमा पहिलो प्रसूति सेवा सेवा लिनुभएका माधवनारायण नगरपालिका–६ का मिन्टुदेवी यादवले स्थानिय सरकारले बर्थिङ सेन्टर सञ्चालन गरेर यहाँका हजारौँ महिलाको मन जितेको बताउनुभयो । 

घर नजिकै पायक पर्ने ठाउँमा बर्थिंङ सेन्टर भएपछि समयको बचत, खर्चको बचत लगायत मानसिक, शारीरिक रूपमासमेत फाइदा पुगेको उहाँले भन्नुभयो ।

बर्थिङ सेन्टरमा गर्भवतीका लागि नियमित गर्भजाँच, सुत्केरी जाँच तथा प्रसूति सेवा उपलब्ध गराइएको बर्थिंङ सेन्टरमा कार्यरत अनमी रीताकुमारी यादवले बताउनुभयो ।

बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भ जाँचसम्बन्धी सामान्य सुविधाबाट समेत वञ्चित रहेका यहाँका स्थानीय महिलाले नियमित गर्भजाँच सम्बन्धी सम्पूर्ण सेवा पाउने उहाँले भन्नुभयो ।

उक्त बर्थिङ सेन्टरमा ल्याब, अल्ट्रासाउन्ड तथा एम्बुलेन्स सेवासमेत उपलब्ध रहेको माधोपुर स्वास्थ्य चौकीका प्रमुख नागेन्द्र पटेलले जानकारी दिनुभयो ।