• २३ चैत २०८२, सोमबार

सूर्यतारा सिमेन्ट उद्योग : निर्माणको काम अघि बढाइँदै

blog

खानीजन्य पदार्थ ढुवानीका लागि प्रदेश सरकारले निर्माण गरेको सडक । तस्बिरः रजनी योगी

रजनी योगी

सुर्खेत, चैत २३ गते । सूर्यतारा सिमेन्ट उद्योग निर्माणको काम अघि बढाउन लागिएको छ । यसअघि नै काम थालिए पनि सरकारबाट सहयोग नपाएको भन्दै रोकिएको थियो । 

अब भने काम अघि बढ्ने देखिएको छ । प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण नगर्दा काम गर्न निकै चुनौतीको सामना गर्नु परिरहेको आयोजनाले जनाएको छ । अहिले बनेको नयाँ सरकारसँग ठुलो आशा राखेर काम अघि बढाइएको सूर्यतारा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले बताउनुभयो ।

प्रदेश सरकारसँग पटक–पटक सामान्य पूर्वाधार निर्माणका काम अघि बढाउन भनिएको भए पनि निकै चुनौतीको सामना गर्नुपरिरहेको उहाँले जानकारी दिनुभयो । 

अहिले केही काम गर्ने प्रतिबद्धता गरेकाले निर्माणको काम अघि बढाउन लागिएको उहाँको भनाइ छ । प्रदेश सरकारले आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेर काम अघि बढाइने जनाइएको छ । 

उद्योग निर्माणका केही कामहरू भने सुरु गरिएको तिमिल्सेनाले बताउनुभयो । विद्युत, खानेपानी र पहुँच मार्ग लगायतको भौतिक पूर्वाधार नभएको भन्दै उद्योगले काम रोकेको हो । प्रदेश सरकारले यिनै पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । 

प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा समेत ठुला उद्योग सञ्चालनका लागि पूर्वाधार सहयोग गर्ने जनाएको छ । सोही बमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाउन सहयोग गर्ने बताइएको छ । 

प्रदेश सरकारले खानीजन्य पदार्थ ढुवानीका लागि दस किलोमिटर सडक निर्माण गर्न लागेको छ । प्रदेशको पूर्वाधार विकास निर्देशनालयले सडक निर्माणका लागि काम अघि बढाएको हो । दस किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको पूर्वाधार विकास निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले बताउनुभयो । उद्योगसम्म पुग्ने दस किलोमिटर सडक निर्माणका लगि प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको छ । बराहताल गाउँपालिका-७, लखरपाटादेखि मदन भण्डारी राजमार्गको खम्बागाडेसम्म दस किलोमिटर सडक निर्माण गर्न लागिएको हो । 

विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसार एक अर्ब २० करोड लागत अनुमान छ । सडकको ट्रयाक खोल्ने, कच्ची नाला निर्माण, टेवा पर्खाल निर्माण, कल्भर्ट निर्माण र ग्रावेलसम्मका गर्नेगरी सम्झौता गरेर काम अघि बढाइएको जनाइएको छ । अहिले सडक निर्माणको काम धमाधम रूपमा अघि बढेको छ । 

लगानीको खोजी

उद्योग सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गर्ने भएपछि थप काम अघि बढाइने भएको छ । दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ । अहिले रोकिएको कामसमेत पुनः सुरु गरिएको हो । 

करिब १५ अर्ब रुपियाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । अध्यक्ष तिमिल्सेनाका अनुसार बराहताल गाउँपालिका-७, लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ । 

उद्योग सञ्चालनको काम अघि बढाउने भएसँगै लगानीको खोजी गरिने कम्पनीका तिमिल्सेनाले बताउनुभयो । ठुलो लागत लाग्ने भएपछि बाह्य लगानीको खोजी गरिने उहाँले जानकारी दिनुभयो ।