• १३ असोज २०८१, आइतबार

दमकमा तारजाली बनाउने उद्योग

blog

विष्णुप्रसाद पोखरेल

दमक, फागुन ७ गते । झापाको दमकमा तारजाली बनाउने उद्योग स्थापना भएको छ । करिब तीन करोड लगानी तथा चार जना व्यवसायीको संयुक्त लगानीमा तारजाली बनाउने उद्योग खुलेको हो । 

दमकको वडा नं. ४ मा स्थापना भएको यो उद्योगले शनिबारदेखि आफ्नो उत्पादन पनि सुरु गरेको छ । उद्घाटन झापा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवं नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घका अध्यक्ष एलपी साँवाले गर्नुभएको हो ।

यो उद्योग आवश्यक पूर्वाधार र आधुनिक उपकरणसहितको झापाको पहिलो उद्योग भएको दाबीसमेत गरिएको छ । उद्योगका सञ्चालक पूर्णकुमार लामाका अनुसार अब प्रदेश १ मा नै तारजालीको अभाव नहुने अनुमान गरिएको छ ।

यस उद्योगबाट दैनिक ६ टन तारजाली उत्पादन हुनेछ । आफूसहित सुनसरीका कमल मिया, अब्दुल मिया, इजहाझ मिया मिलेर संयुक्त लगानीमा उद्योग सुरु गरिएको लामाले जानकारी दिनुभयो ।

खोला तटबन्धन गर्न आवश्यक पर्ने तारजाली, खेतबारी तथा अन्यत्रसमेत घेराबारा लगाउन सकिने आधुनिक तवरले यहाँ जाली बनिनेछ । अहिले भारतबाट कामदार ल्याएर हातेले बुनेको तारजाली प्रयोग हुने गरेको छ ।