कविराज घिमिरे
हिले, चैत २२ गते । धनकुटाको ऐतिहासिक सल्लेरी राष्ट्रिय वन अहिले स्थानीय बासिन्दा र त्यहाँ आवतजावत गर्ने यात्रुका लागि जोखिमका कारण बन्दै गएको छ। जीर्ण रुखहरू ढल्ने खतरा बढेसँगै दैनिक आवतजावत गर्नेहरूले त्रास महसुस गरिरहेका छन्।
धनकुटा नगरपालिका वडा नं. ६ मा रहेको सल्लेरी वनमा डेढ सय वर्ष पुराना सल्लाका रुखहरू रहेका छन्। यो वन हिउँदमा आँधी–हुरी र डढेलो, बर्खामा जरसहित रुख ढल्ने भएकाले अहिले सल्लेरी वन क्षेत्र जोखिममा छ।
वनभित्र सरस्वती मन्दिर, विद्यालय, आँखा अस्पताल, वडा कार्यालय सहित विभिन्न कार्यालयहरू रहेका छन्। त्यस्तै, कचिडे र अन्य गाउँ जाने सडकहरू पनि यही वनमार्फत गुज्रने भएकाले जोखिम बढेको स्थानीय योगेन्द्र दाहालले बताउनुभयो।
कोशी राजमार्गको धनकुटा–हिले खण्ड समेत यही वन हुँदै जान्छ, जसमा दैनिक सयौँ सवारीसाधन आवतजावत गर्छन्। वर्षेनि सडक आसपासका धेरै रुख ढल्ने गरेको स्थानीय बासिन्दाहरूले बताउँछन्। स्थानीय पुरुषोत्तम पोख्रेलका अनुसार, जोखिमयुक्त रुख समयमै व्यवस्थापन नगरे ठुलो दुर्घटना हुन सक्ने खतरा छ।
गत चैत २ गतेको आँधी–हुरीले १५० भन्दा बढी रुख ढालेको थियो, जसले नेपाली सेना, आयुर्वेद औषधालय र खानेपानी संरचनामा समेत क्षति पुर्याएको थियो।
डिभिजन वन कार्यालय धनकुटाले ४० वर्षे पुनरुत्पादन योजना लागू गर्दै पुराना रुख हटाउँदै नयाँ बिरुवा रोप्ने नीति अघि बढाएको छ। वन संरक्षणसँगै मानवीय जोखिम कम गर्ने उद्देश्यले योजना लागू गरिएको सूचना अधिकारी अञ्जना पुरीले बताउनुभयो।
धनकुटाको सल्लेरी वनमा १३५ वर्ष पुराना रुख रहेको जानकारी छ। वि.सं. १९४२ सालमा तत्कालीन राणा प्रशासक बमविक्रम राणाले सल्लेरी वन लगाएको जानकारहरूले बताएका छन्।