• १३ साउन २०८१, आइतबार

कृषि मेला सम्पन्न, २५ हजारले गरे अवलोकन

blog

छविलाल पाण्डे 

बुटवल, फागुन ६ गते । फागुन २ गतेदेखि बुटवलमा सञ्चालन भएको कृषि मेला शनिवार सकिएको छ । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरेको पाँच दिने कृषि मेलाको २५ हजारले अवलोकन गरेको आयोजकले जनाएको छ । 

मेलाभित्र २० लाखको कारोबार भएको सङ्घका अध्यक्ष तथा मेला संयोजक उज्ज्वलप्रसाद कसजूले जानकारी दिनुभयो । मेलाको समापन गर्दै लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले किसानका समस्या समाधान गर्ने बताउनुभयो । 

कृषिको विकासविना मुलुकको आर्थिक विकास सम्भव नभएको बताउँदै उहाँले किसानका समस्या समाधान गरेर मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने गरी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

त्यस्तै, बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले मुलुकको आर्थिक विकासका लागि कृषिको विकास अपरिहार्य रहेको बताउनुभयो । कृषि विकासका लागि नगरपालिकाले ठूलो योजना बनाएको बताउँदै उक्त योजना पूरा गर्न सबैको साथ र सहयोगको लागि आग्रह गर्नुभयो । 

मेलाको समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य जमशेर अलि मिया, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका निमित्त प्रमुख रामप्रसाद पाण्डे, सङ्घका पूर्व अध्यक्ष कुशप्रसाद मल्ली, नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, कपिलवस्तु उद्योग वाणिज्य सङ्घका अध्यक्ष दोलकराम घिमिरे, सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, सहभागी स्टल भैरव च्याउका सञ्चालक केशव कार्की, लुम्बिनी फलफूल व्यवसायी सङ्घका अध्यक्ष बाबुराम न्यौपाने लगायतले धारणा राख्नुभयो । 

पाँच दिनसम्म सञ्चालन भएको मेलामा प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवासम्बन्धी जानकारीमूलक र पोर्क पेष्टिवल समेत गरिएको थियो । मेलामा ५० स्टल समावेश गरिएको सङ्घका महासचिव विमलराज भट्टराईले बताउनुभयो । 

कृषिका अत्याधुनिक प्रविधितर्फ धान रोप्ने मेसिन, बाली काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरीपालन, जैविक मललगायतको प्रदर्शनी गरिएको थियो ।