• १३ असोज २०८१, आइतबार

कार्यसम्पादन मूल्याङ्कनमा सिरिजङ्घा प्रथम

blog

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका ।

चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन ६ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरेको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाको प्रथम भएको हो । 
कार्यसम्पादन मूल्याङ्कन नतिजामा ६९.९१ अङ्क प्राप्त गर्दै सिरिजङ्घा गाउँपालिका प्रथम भएको छ । यस्तै, ६९.७७ अङ्कका साथ मैवाखोला गाउँपालिका द्वितीय र ६५.०८ अङ्क प्राप्त गर्दै फुङ्लिङ नगरपालिका तृतीय भएको छ । आयोगले प्रकाशित गरेको नतिजाअनुसार जिल्लाका नौ स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा कमजोर मिक्वाखोला गाउँपालिका भएको छ । मिक्वाखोलाले ४५.८० अङ्क मात्र प्राप्त गरेको छ । 
यसैगरी, ६४.६४ अङ्कसहित पाथीभरा याङ्वरक गाउँपालिका चौंथो स्थानमा छ । त्यसपछि सिदिङ्वा गाउँपालिका ६३.३५ अङ्कसाथ पाँचौं, ५२.७७ अङ्कका साथ मेरिङ्देन गाउँपालिका छैटौं, सातौं आठराई त्रिवेणी गाउँपालिका (४९.५७ अङ्क) र ४७.१५ अङ्क प्राप्त गरी फक्ताङ्लुङ गाउँपालिका आठौं भएको छ । कार्यसम्पादन मूल्याङकनमा बजेट विनियोजनदेखि कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन गर्ने गरिन्छ । 
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्यसम्पादन सूचाङ्कका आधारमा सबै तहको सरकारको कार्यसम्पादन मूल्याङ्कन गरेको हो । नगर तथा गाउँ कार्यपालिकाले असार १० गतेभित्र आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको अनुमान सम्बन्धित नगर तथा गाउँसभामा पेश गरे/नगरेको आदि विषयमा मूल्याङ्कन गरेको जनाएको छ ।
त्यस्तै, राजस्व र व्ययको अनुमान असार मासन्तसम्ममा सम्बन्धित नगर तथा गाउँसभाबाट पारित गरे/गरेको, स्थानीय तहले घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन, विज्ञापन करबापत उठेको रकममध्ये प्रदेश सरकारलाई दिनुपर्ने रकम प्रदेश सञ्चित कोषमा जम्मा गरे/नगरेको जस्ता सूचक बनाएर मूल्याङ्कन गरिएको थियो ।