• २३ फागुन २०८२, शनिबार

पाल्पा १ मा एमालेका उम्मेदवार आचार्यको अग्रता

blog

पाल्पा १ बाट उम्मेदवार रहनुभएका नेकपा (एमाले) का नारायणप्रसाद आचार्य ।

इमान सिं राना

रामपुर (पाल्पा), फागुन २३ गते । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ पाल्पामा8 नेकपा (एमाले) का उम्मेदवार नारायणप्रसाद आचार्यले अग्रता कायम गर्नुभएको छ । क्षेत्र नं १ को निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, तिनाउ ५ र तानसेन ८ को मतगणना सकिदासम्ममा आचार्यले ९८४ मतान्तरसहित अग्रता कायम गर्नुभएको हो ।

आचार्यले ६ हजार ९५५ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार सन्दीप रानाले पाँच हजार ९७३ सहित पछ्याइ रहनुभएको छ । त्यस्तै सुरुवातमा फरकिलो अग्रता कायम गर्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्तले चार हजार ६४६ मत प्राप्त गर्नुभएको छ । तिनाउ, तानसेन र माथागढीको मतगणना सम्पन्न हुँदै गर्दा पन्तले ४७७ मतसहितको अग्रता कायम गर्नु भएको थियो ।

निस्दी गाउँपालिकाको मतगणनाको सुरुवातमा कांग्रेसका उम्मेदवार रानाले अग्रता लिनुभएको थियो । निस्दी ४ को मतगणना पश्चात आचार्यले मतान्तर बढाउनु भएको हो । क्षेत्र नं १ भित्रको ३७ वडा मध्ये हालसम्म १६ वडाको मतगणना सकिएको छ । अहिले रम्भा गाउँपालिकाको मतगणना चलिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कम्युनिष्ट पार्टीका हुमबहादुर सुनारी मगरले ४६० मत प्राप्त गर्नु भएको छ । त्यस्तै नेशनल रिपब्लिक नेपालका थमन सिं रेश्मी मगरले ५८७, मंगोल नेशनल अर्गनाईजेशनका सलन चिदीले १२४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिनुभयो ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बृहस्पति अर्यालले ५७, राष्ट्रिय जनमोर्चाका नरमती सिंजालीले ३०, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पुरन गैह्रे शर्माले ११, स्वतन्त्र उम्मेदवार डिल्लीराज काफ्लेले ८, कोशल अर्यालले १३, वाछा दली मियाले १९ र  युध्दबहादुर विरकट्टाले ९ मत प्राप्त गर्नुभएको छ ।