• ८ मंसिर २०८१, शनिबार

महाशिवरात्रिमा महोत्तरीका शिवालयमा भक्तजनको भीड

blog

शिवरात्रिको अवसरमा जलेश्वरनाथ महादेव मन्दिरमा देखिएका दर्शनार्थी र जलेश्वरनाथ महादेवको पूजा। तस्बिर : महेशकुमार दास

महेशकुमार दास

जलेश्वर, फागुन ६ गते। हिन्दुका आराध्यदेव शिवको विशेष पूजा आराधना गरेर मनाइने शिवरात्रीको अवसरमा शनिबार महोत्तरीको प्रसिद्ध शिवालयमा दर्शनार्थीको भीड लागेको छ। 

महाशिवरात्रीको अवसरमा महोत्तरीको प्रसिद्ध शिवालय जलेश्वरनाथ, टुटेश्वरनाथ, मंगलनाथ लगायतका शिवालयमा शनिबार बिहानैदेखि पूजापाठ गर्नेको भीड लागेको हो । 

जलेश्वरमा रहेको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड बढी देखिएको शिवरात्रि मेला समारोह समितिले जनाएको छ। मन्दिर क्षेत्रदेखि मन्दिरको बाहिरी पाँच सय मिटरको दूरीसम्म दर्शनार्थी लामबद्ध देखिएको मेला समारोह समितिले जानकारी दिएको छ। 

शिवरात्रिको लागि महोत्तरीस्थित विभिन्न शिवमन्दिरलाई दुलही झैं सिंगारिएको छ। जिल्लाको प्रसिद्ध जलेश्वरनाथ, टुटेश्वरनाथ, मंगलनाथ, सिद्धिनाथ लगायतका मन्दिरमा दर्शन गर्न नेपाल तथा भारतबाट आएका हजारौं दर्शनार्थीको भीड लागेको हो। 

बाह्रै महिना जलमा विराजमान रहने जलेश्वरनाथको दर्शन गरे चिताएको मनोकामना पूरा हुने जनविश्वासका कारण दर्शनार्थीको भीड बढी देखिएको शिवरात्रि मेला समारोह समितिका अध्यक्ष रमण चौधरीले जानकारी दिनुभयो। चौधरीका अनुसार विगतको वर्ष भन्दा यस वर्ष अझ भव्यताको साथ मेला आयोजना गरिएको छ।   

नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान तथा स्थानीय युवाको सहयोगमा जलेश्वरनाथ मन्दिर भित्रको जल बाहिर निकालेर दर्शनार्थीलाई शिवलिङ्गको दर्शनको व्यवस्था मिलाइएको समारोह समितिले जानकारी दिएको हो।