विजयकुमार साह
ढल्केबर, चैत २२ गते । धनुषाको मिथिला नगरपालिका–७, ढल्केबरस्थित जङ्गल नजिकका बस्तीमा चितुवा प्रवेश गरेर खसीबाख्रा खाइदिन थालेपछि स्थानीय त्रसित बनेका छन् । केमलीपुर, गैरीटोल र ऐक्लेबर वस्तीका वासिन्दा चितुवाबाट त्रसित बनेका हुन् ।
वडाध्यक्ष रामबहादुर स्याङ्दनले यस क्षेत्रमा विगत १२ दिनदेखि दिनहुँ चितुवा देखापर्ने गरेको बताउँदै हालसम्म पाँच वटा खसीबाख्रा खाइसकेको छ भने एउटा पाडोलाई गम्भीर घाइते बनाएको बताउनुभयो । त्यसैगरी दुई वटा घरपालुवा कुकुरसमेत चितुवाले सिकार बनाएको जानकारी दिनुभयो ।
वडाध्यक्ष स्याङ्दनका अनुसार चितुवाले अहिलेसम्म मानवलाई कुनै क्षति नपु¥याए पनि घरपालुवा पशुचौपायामा लगातार आक्रमण गरिरहेकाले जोखिम बढेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘चितुवा बारम्बार बस्ती नजिक आउन थालेपछि स्थानीय निकै डराएका छन् । हामीले सम्बन्धित निकायलाई जानकारी गराएका छौं ।’’ चितुवाको गतिविधि बढ्दै गएपछि डिभिजन वन कार्यालय धनुषालाई जानकारी गराइएको र आवश्यक कदम चाल्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले चितुवा प्रभावित क्षेत्रमा गस्ती टोली परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले चितुवाको गतिविधि निगरानीमा राखिएको उल्लेख गर्दै स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘चितुवा जङ्गलबाट आहारको खोजीमा बस्ती पस्ने सम्भावना हुन्छ । त्यसैले रातिको समयमा एक्लै हिँडडुल नगर्न, पशुचौपाया सुरक्षित स्थानमा राख्न र कुनै असामान्य गतिविधि देखिए तत्काल सूचना दिन आग्रह गरिएको छ ।’’ वन क्षेत्रमा आहारको अभाव तथा मानव बस्ती विस्तारजस्ता कारणले वन्यजन्तु बस्ती नजिक आउन बाध्य हुने गरेकाले जोखिमसमेत देखिएको उहाँको भनाइ छ ।
स्थानीयवासीले चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिएर उपयुक्त स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।