• १३ असोज २०८१, आइतबार

कुशल अम्पायर भएर संसद् चलाउँछु : घिमिरे

blog

लीलाराज खड्का

बिर्तामोड, फागुन ६ गते । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संविधान विरोधीलाई परास्त गर्दै सङ्घीयता देशको आवश्यकता हो भन्ने आभाष दिलाउने गरी संसद्मा भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको छ ।

संविधान सभा सभामुख र उपसभामुखमा विजयी घिमिरे र इन्दिरा रानामगरको सम्मानमा बिर्तामोडमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद्लाई नेपाली जनताको पक्षमा काम गर्ने थलोका रूपमा विकास गर्न आफ्नो भूमिका रहनेसमेत बताउनुभयो ।

संसद्मा सभामुख र उपसभामुख एउटै पालिकाको निर्वाचित भएको भन्दै स्थानीयवासीको साथ, सहयोग र आशीर्वादका कारण देशको प्रतिकुलता चिर्न मद्दत मिल्ने घिमिरेले बताउनुभयो । सरकारमा बसेर सरकारकै विरोध गर्ने दल र सरकार बाहिर बसेर पनि सरकारलाई समर्थन गर्ने दलहरूका आफ्नै समस्या भएको उहाँको भनाइ छ । अघिल्ला सरकारका पालादेखिकै विधेयकका चाङ्गहरू थाती रहेको भन्दै संसद्लाई चलायमान बनाउन आफ्नो भूमिका कुशल अम्पायरका रूपमा रहनेसमेत घिमिरेले बताउनुभयो । कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानामगरले आफूले सभामुखसमेतको समन्वयमा देशका तमाम बालबालिका, ज्येष्ठ नागरिक, महिलाका समस्याबारे संसद्मा सशक्त भूमिका खेल्ने बताउनुभयो । आफू झापाली भए पनि देशका सबै क्षेत्र भूगोल र लिङ्गको साझा भएर काम गर्ने भन्दै उहाँले राजनीतिक नियुक्तिमा राजनीतिक भागबन्डाका आधारमा नभएर योग्य मानिसलाई योग्य स्थानमा नियुक्ति दिनका लागि आफ्नो पहरेदारी रहनेसमेत उपसभामुख रानामगरको भनाइ थियो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंसहित प्रदेश सभाका सदस्य एकराज कार्की स्थानीय सङ्घ–संस्थाका प्रतिनिधिले सभामुख र उपसभामुखलाई सम्मान गर्नुभएको थियो ।