• १७ वैशाख २०८२, बुधबार

प्रजातन्त्र दिवस मनाउन परिपत्र

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, फागुन ६ गते। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ तीन दिनसम्म मनाउन तीनवटै तहलाई आग्रह गरेको छ ।  मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सबै आयोग, विभाग, प्रतिष्ठान, जिल्ला समन्वय समिति र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन आग्रह गरेको हो । 

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७९ फागुन ६, ७ र ८ गते तीन दिनसम्म भव्यताका साथ मनाउने सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत माघ २४ गते बसेको बैठकबाट पारित कार्यक्रमअनुसार मनाउन शुक्रबार सबै निकायलाई परिपत्र गरिएको मन्त्रालयले जनाएको छ । 

प्रजातन्त्र दिवस मनाउन सबै प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेशस्तरीय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन गर्न पनि परिपत्र गरिएको छ । त्यस्तै सबै सरकारी निकाय, प्रतिष्ठान, सङ्घसंस्था, कार्यालयमा राष्ट्रिय झन्डा फहराउने तथा फागुन ६, ७ र ८ गते साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै सार्वजनिक निकाय र स्थलहरूको सरसफाइ गरी सम्भाव्य स्थानमा राष्ट्रिय झन्डा राखी सजावटसहित सौन्दर्यीकरण अभिवृद्धि गर्न पनि मन्त्रालयको परिपत्रमा उल्लेख गरिएको छ । 

सञ्चारमाध्यमबाट राष्ट्रिय प्रजातन्त्र दिवससँग सम्बन्धित सन्देशमूलक कार्यक्रम प्रकाशित तथा प्रसारित गर्ने र दिवस केन्द्रित सांस्कृतिक, साहित्यिक, शैक्षिक क्षेत्रसम्बद्ध सिर्जनात्मक तथा रचनात्मक प्रतियोगिताका कार्यक्रम आयोजना गर्न मन्त्रालयले सबै निकायलाई आग्रह गरेको छ ।