• १३ असोज २०८१, आइतबार

सुरक्षाको प्रत्याभूत गराउने प्रतिबद्धता

blog

ताप्लेजुङका नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजन लिम्बू । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, फागुन ४ गते । ताप्लेजुङका नयाँ प्रहरी प्रमुख राजन लिम्बूले नागरिकलाई सुरक्षाको प्रत्याभूत गराउने प्रतिबद्धता जनाउनुभएको छ । सरुवा भएर आउनुभएका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लिम्बूले सर्वसाधारण नागरिकले आफू सुरक्षित छु भन्ने महसुस हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेसँगै बिहीबार स्थानीय सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्नुहुँदै प्रनाउ लिम्बूले सामाजिक अपराध न्यूनीकरण गर्ने कार्यलाई प्रमुख प्राथमिकता दिने बताउनुभयो । अपराध न्यूनीकरण भएमा सर्वसाधारण नागरिकले सुरक्षाको अनुभूत गर्ने हुँदा यस कार्यमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । 

प्रहरी र नागरिकबीच सहयात्रीको रूपमा सम्बन्ध स्थापित गर्दै जिल्लामा प्रहरी सेवालाई चुस्त तथा प्रभावकारी बनाउने बताउनुभयो । सेवाग्राहीलाई कुनै पनि समस्या पर्दा प्रहरीको साथ चाहिन्छ भन्ने वातावरण निर्माण गर्नेगरी सहज सेवा प्रवाह गर्ने उहाँको भनाइ छ । अशक्त, वृद्धवृद्धा तथा अपाङ्गता भएका नागरिकलाई विशेष सम्मान गर्दै उनीहरूका लागि सेवा वितरण थप सरलीकृत गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

प्रहरीबाट प्रवाह हुने सेवामा बिना झन्झट प्रवेश पाउने र सम्बन्धित फाँटबाट सहज सेवा लिएर फर्कने वातावरणका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले प्रहरीको कार्य सधैँ पारदर्शी र सेवाग्राहीमैत्री हुने पनि उहाँको जोड थियो ।

यता लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, मादक पदार्थ सेवनजस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्नमा प्रहरीले विशेष योजना बनाएर कार्यान्वयन गर्ने प्रनाउ लिम्बूले बताउनुभयो । उहाँले खुलेआम रूपमा प्रहरीलाई मादक पदार्थ सेवन गर्ने अधिकार नरहेको बताउँदै यस्तो अवस्थाप्रति प्रहरी कर्मचारीलाई सचेत र अनुशासित हुन निर्देशनसमेत दिइसकेको बताउनुभयो ।

कुनैपनि अपराध तथा जोखिम नियन्त्रण गर्न सञ्चारकर्मी र जिल्लावासी सचेत नागरिकको सहयोगको अपेक्षा पनि आफूले राखेको बताउनुभयो । जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन कार्यालयका प्रहरी निरीक्षकसहित मातहतका प्रहरी कर्मचारीलाई निर्देशन पनि दिनुभयो । शान्ति सुरक्षा सबैको चासो र संवेदनशीलताको विषय भएकाले उहाँले स्थानीय सञ्चारकर्मीमार्फत प्रहरी–नागरिक सहकार्यका लागि आग्रह गर्नुभयो ।