• १४ पुस २०८१, आइतबार

बघेनी (कथा)

blog

निद्राबाट आँखा खुल्नासाथ कथावस्तु खोज्ने क्रममा मैतीदेवीका वरिपरि घुमेँ । सबै बासी पात्र भेटिए । केको कथा लेख्नु ? मभित्र निराशा चल्मलाउँदै थियो । यसै अन्यमनस्क भाव बोकेर सेतो पुल मुन्तिर पुगेको थिएँ ।

‘म छु, यहाँ म छु ।’ आवाजसँगसँगै फोहोरको डङ्गुर मास्तिर केही चल्मलाएको पनि देखियो । 

‘के हो ?’ ‘को हो ?’ झिस्मिसे हुँदै नै थियो । ...र खोलाको किनार पनि त्यहीँ थियो । 

‘भूत हो कि ?’ अलि चिसो भो मनभित्र, गर्मीको एयरकन्डिसनको चिसोले पुसको जाडोमा छोएजस्तै भयो ।

‘म वास्तविकता हुँ, किन डराएको ?’ लौ, त्यसको आवाज पनि आयो र मेरा फर्किनै लागेका गोडा त्यहीँ रोकिए र म ऊतिर फर्किएँ । अब भने विचारेर गम्दै थिएँ । त्यो त स्त्री स्वर थियो । 

‘तिमी को ?’ मैले चिन्न खोजेँ । ‘शिशिरवसन्तको कथा याद छ ? त्यसमा भएकी शिशिरकी रानी मै हुँ !’ उसले भनेकी थिई ।

स्त्री आवाज सुनेपछि र परिचय पनि पाएपछि पात्र परिचयका लागि मेरो उत्सुकता थप जागेको थियो । त्यो कस्ती देखिन्छे ? मैले स्त्री रूप, रङ, गन्धादी त्यहाँ खोजेँ तर त्यहाँ त केही पनि देखिएन । 

त्यहाँ केवल एउटा ठूलो टाउको बन्न सक्नेजस्तो डल्लो थियो । मांशपिण्ड भाँतीको त्यस डल्लामा मानवीय कुनै ज्ञानेन्द्रियको अस्तित्व थिएन । डल्लोबाहेक डल्लैमा जोडिएका धागोका केही रेशाजस्तै त्यसमा देखिन्थे । त्यसैले जनेन्द्रियादी अङ्गको अस्तित्व त्यहाँ हुने कुरै भएन । ठ्याम्मै पत्रिकामा छापिने कार्टुन चित्र भाँतीको अस्तित्वजस्तो अस्तित्व मात्रै फेला परेको थियो । तर उसबाट आवाज भने रेडियोभाँती आएको थियो । तर रेडियोमा जस्तो औद्योगिक उत्पादनको कुनै निसानी त्यहाँ थिएन । त्यस अस्तित्वको कुनै परिचय नभएको परिचयले उसप्रति झनै कौतुहल जागेको मेरो अवस्था थियो । 

कथा सन्दर्भ ः 

बोधविक्रम अधिकारीले लेखेको लोककथा ‘नेपाली दन्तकथा’भित्रको एउटा कथा ‘शिशिरवसन्तको कथा’ । त्यस कथामा कुनै देशकी रानीको बिहे गरेकै रात लोग्ने मर्ने भएकाले हरेक दिन हात्तीले रानीका लागि एउटा पुरुष खोजी ल्याउने उपक्रममा कथामा बिचल्ली परेको शिशिर राजा बनेको छ । हुनत ऊ राजकुमारै थियो । शिशिर त्यस कथामा धीरोदात्त पात्र थियो त्यसैले ऊ चाहिँ मरेन । बाँच्नेकै कथा बन्ने हो, मरे के कथा ?

 शिशिर नमरेरै राजा भयो र कथा अघि बढ्यो अर्थात् त्यसैले कथा ‘शिशिरवसन्तको कथा’ भयो । 

अब यो कथा 

मैले लेख्न लागेको कथा चाहिँ अब अघि बढ्ने सुरमा छ ः तर यो शिशिरवसन्तको कथा होइन, हुन पनि सक्तैन, किनभने यो शिशिरकी रानीको कथा हो । 

त्यतिबेला मसँग मैले फोहोरको डङ्गुरमा फेलापारेको अस्तित्व त थियो । उसले आफ्नो परिचय दन्त्यकथाकी रानी भनेर दिएकी पनि हो, तर उसँग कथाको वस्तु छ छैन र कथावस्तु भएरै पनि उसमा पात्रता छ छैन ? मैले कसरी थाहा पाउने ?

हुन त मैले लेख्तै गरेको कथामा शिशिरवसन्त कतै छैनन् । त्यहाँ अस्तित्वजस्तै एउटा अस्तित्व मैले फेला पारेको थिएँ । जुन स्त्री अस्तित्व थियो र ऊ भन्दै थिई ऊ शिशिरकी रानी हो । 

‘ए रानी, तिमी मेरो कथाको प्रमुख पात्र बन्न सक्छ्यौ ?’ 

अनुमति नै नलिई कसैलाई आफ्नो कथाको पात्र बनाउनु शिष्टता वा मर्यादा हुन्न भनेर नै मैले रानीसँग मेरो पात्र बनिदिने अनुनय गरेको थिएँ ।

‘सुधार !’ 

‘आफूलाई सुधार !’

‘लेखक महोदय !’ 

‘म पात्र मात्र हुँ । मेरो सत्ता छैन, शासन छैन । सत्ताबिनाकी रानी मलाई हुनु छैन । मेरो कुनै नाउँ हुनसक्छ । तिमी नाउँ राख्न सक्छौ नि ! मेरो नाउँ राख र मलाई त्यही नाउँले डाक, बुझ्यौ !’ 

कुनै बेला भइसकेकी रानीको यतिबेला रानी हुन नपाउँदा ऊभित्र लुकेर बसेको हीनत्व सँगसँगै तत्कालीन रानीझैँ कड्केर बोलेकी थिई उक्त अस्तित्व । उसको लवजमा कुनै बेलाकी रानीको, दम्भ, गर्व, अहम्, स्वत्व, अहङ्कार, उन्माद, जोशादि इत्यादि सबै मिसिएको थियो । त्यही मलाई खुब मन प¥यो । किनभने मलाई मानिसको बाघ शैली नै मन पर्छ । 

अधिकांश मानिसमा प्रायजसो पाइने कुखुरा, खरायो, जुका, कुकुर, बिरालो, ब्वाँसो, झिँगा, लामखुट्टे, स्यालजस्ता शैलीलाई म घृणा गर्छु । त्यसैले यो पात्र मलाई मन परी, अब मेरो कथाकी पात्र बघेनी र कथाको शीर्षक पनि बघेनी ! 

‘तिम्रो नाउँ बघेनी राखेँ है त, के तिमीलाई आफ्नो नाउँ मन प¥यो ?’ पात्रको नाउँ जे मन लाग्यो त्यही किन राख्ने ? पात्रलाई नै रोजाएर नामकरण गर्न पाए पात्र पनि खुसी हुने र कथा झनै रसिलो पार्ने मेरो मनासाय थियो । उसले मन नपराए म फेरि अर्को नाउँको खोजिगरौँला । तर उसले मेरो प्रश्नको कुनै उत्तर दिइन । ‘मौनं सम्मति लक्षणम्’ हामी दुवैलाई सहमति भएको महसुसले म रमाएँ । अर्को नाउँ राख्न पनि त झ्याउ नै हुन्थ्यो । यो पात्रको मञ्जुरी र नमञ्जुरीको पछि लाग्दा पनि कथै उम्किने डर पनि थियो मलाई । त्यसैले अब मैले नाउँका पछि नलाग्ने निर्णय गरेँ । 

‘ए बघेनी ! के तिमी मेरो कथाको पात्र बन्न सक्छेऊ ?’ अस्तित्वसँगको कुराकानीमा नयाँपन पाएपछि मैले आफ्नो कथाकारिताको सफलताको पूर्वानुमानमा हौसिएर आफैँले नामकरण गरिएकी ‘बघेनी’ नाउँकी अस्तित्वसँग पुनः वार्ता थालेको थिएँ । 

यतिबेला पनि बघेनी फोहोरमै थिई । बसिनसक्नु दुर्गन्धले त्यहाँ म अडिन सक्ने अवस्था थिएन । तर लेखन अठोट नै गरिसकेको मेरो अस्तित्व पनि मभित्र जुर्मुराइसकेको थियो । त्यसैले जे गरी भए पनि, जसो गरी भए पनि, अब मैले बघेनीको कथा लेख्नै पर्छ भनेर म डटेको थिएँ । 

‘ए बघेनी ! यहीँ नजिकै मेरो अपार्टमेन्ट छ । के तिमी त्यहाँसम्म जान सक्छेऊ ?’ उसलाई मेरो यो अनाहकजस्तो प्रश्न थियो । 

‘म कतै जान सक्तिनँ । म केही गर्न सक्तिनँ । तर म सबै कुरा भन्न सक्छु । सुन्न पनि सक्छु । के तिमी मलाई बोकेर लैजान सक्छौ ? उसले सोधेकी थिई । 

‘लौ यसले त मारी ! मैले यसलाई छुने त कसरी ? झन् बोक्ने ?’ मनमनै आफैँसँग बोलेर 

म आत्तिएको थिएँ । 

...तर हामीबीच सम्झौता भयो । भौतिक भएरै पनि अभौतिक पात्र पनि भएकीले मैले पात्रताबापतको पात्रस्व उसलाई दिनु नपर्ने टुङ्गो भयो ।

गरिब नभएर पनि सधैँ गरिबीकै मानसिकतामा डुबिरहने म लेखक दङ्ग परेँ ।

त्यसपछि कुनै जुक्तिको प्रयोगपछि बघेनीलाई मैले कालिकास्थानको आफ्नो अपार्टमेन्टसम्म पु¥याएको थिएँ । 

बघेनी !

ऊ बघेनी थिई । बघेनी आफ्नो कथा भनिरहेकी थिई । अनि बघेनी कथा भनिरही र म यन्त्रवत सुनी रहेँ । तर यो कथा बोधविक्रम अधिकारीको कथामा लेखिएको छैन है ! यस कथामा शिशिर युद्ध विभीषिकाको सिकार भएपछि पनि बघेनी भने बाँचिरही । 

‘तर शिशिरले तरबारले मभित्र बस्ने गरेको एउटा नाग काटेपछि मेरो नाकबाट अरू नाग निस्किन छोडेको थियो । त्यसपछि शिशिरसँग मेरो सरसम्बन्ध हुन्जेल मभित्रका अन्य नागहरू सुषुप्त रहे । शिशिरको डरले नागहरूले मेरो नाकको बाटो नै बिर्सेका थिए । जसै शिशिर मेरो जीवनबाट अलप भयो अनि नागहरू मेरै नाकको बाटोबाट पुरुषरक्त प्यास बोकेर ओहोरदोहोर गर्न थालेका थिए । त्यसपछि...’ बघेनीको आवाज बन्द भएको थियो । 

म कथा अधुरो छोड्न सक्तिन थिएँ । 

‘के भयो बघेनी ? किन चुपो लाग्यौ ?’ 

मैले नरम बोलीले उसलाई खोतल्न खोजेँ । 

‘शिशिर मारिएपछि पनि सत्ताको नियमानुरूप राजगद्दी खाली नगर्नका लागि हात्तीले देवराज, वीरभद्र, हिमायु, बनेश्वर आदि अनेकानेक पुरुषहरू प्रत्येक दिन दरबारमा बाजागाजाका साथमा भिœयाउने गथ्र्यो तर प्रत्येक बिहान मेरो अन्तः पुरबाट तिनको शव निष्कासित हुने गथ्र्यो । यस प्रक्रियाले म आजित भइसकेकी थिएँ ।

‘ए लेखक ! तिमी नै भन न ? म कतिवटा पुरुष परिवर्तन गरौँ । म नगरबधू पनि होइन, म त त्यस देशकी सम्मानित रानी थिएँ । तर रानी भएर पनि हरेक रात पुरुष फेरेर भोग गर्नु र आफूले भोग गरिसकेको पुरुषको आफैँभित्रको नागद्वारा हत्या गरिएको दृश्यसमेत भोग्नु ! यस प्रक्रियामा म विरक्त भइसकेकी थिएँ । तर राज्यका लागि मैले पुरुष भोग्नै पथ्र्यो । पुरुष भोग मेरो विलाशिता नभएर राज्यप्रतिको दायित्व थियो । त्यसपछि मैले एउटा उपाय निकालेँ । मैले मेरो दरबारमा एउटा नाग अनुष्ठानको गोप्य आयोजना गरेँ । आफ्ना इष्ट देवतासँग अनुनय गरेर आफूभित्रका नागहरूलाई मैले आफ्नो कम्मर मुनि अर्थात् दुईटा जाँघको बीचमा भएको प्वालको छेउछाउमा बस्न पठाइदिएकी थिएँ । अनि ती नागको विषाक्त दाँत चाहिँ झिकेर देशको अदालतको गर्भगृहमा गाडिदिएकी थिएँ ।’ 

अनि त्यसपछि पनि दरबारको हात्तीले मेरा लागि धेरै पुरुषहरू पालैपालो ल्याइराख्थ्यो नै । मेरो राज्य, यौवन, प्रतिष्ठा र श्रीसम्पत्तिको मोहले मेरा नजिक बस्न लालयित भएको भाव ती सबै पुरुषका आँखामा म पढथेँ । तर ती कुनै पनि पुरुषले मेरो अन्तःपुरमा एक रात बिताउन सकेनन् । मसँगको प्रत्येक समागमपछि निरीह भएका ती पुरुष अदालतमा पुगेका हुन्थे र त्यहाँको विषाक्त दाँतले डसिएपछि उनीहरूको इहलिला समाप्त हुने गथ्र्यो । यस परिवर्तनले पनि पुरुषको समाप्ति त रोकिएको थिएन तर मेरो अन्तःपुरबाट भने पुरुष शव निस्किनु परेको थिएन । यसबाहेक मसँग अर्को विकल्प पनि थिएन । किनभने कुनै पुरुष शिशिरझैँ धीरोधात्त भएनन् । तिमी नै भन न लेखक म के गर्न सक्थेँ र ?’

फेरि बघेनी चुप लागेकी थिई । मलाई कथा अन्त्यविहीन लागिरहेको थियो । हरेक पटक बघेनी चुपो लाग्दा मलाई मेरो कथा अधुरो हुने पीर थियो । बघेनीको अस्तित्व जीवनसँग विचाराधीन थियो । त्यसैले म झन्डै डराएको थिएँ । यो कथा सक्नुपर्छ । त्यसपछि बघेनीको अस्तित्वसँग मलाई के सरोकार ? 

‘बघेनी ?’ 

मैले उसको आवाज खोजेँ । 

‘यसरी पारपाचुकेको फन्दामा ती पुरुषहरू अदालत पुगेका हुन्थे । पारपाचुकेको आङ्कुसेले तानेर अदालत पुगेका पुरुषहरू नागको दाँतले डसिन्थे र भुतुक्क हुन्थे । यसरी पुरुष अस्तित्वको समाप्ति हुँदै गयो र त्यो देश पुरुषविहीन हुन गयो !’

अनि त्यसपछि मेरा लागि पुरुषको खोजीमा जाने गरेको हात्ती दरबारमा रित्तै आउन थाल्यो । रित्तो हात्तीका कारण मेरो अन्तःपुर चकमन्न चकमन्न हुँदै गयो । अनि म युगयुगसम्म पुरुष प्रतीक्षामा बस्न थालेँ । तर पुरुष भने निमिट्यान्न थिए र कहिल्यै मेरो सामु कुनै पुरुष परेनन् । अहिले पनि म पुरुष प्रतीक्षामा छु । 

तर पुरुष भनेरै पनि हुँदैन । मलाई शिशिरझैँ विजयी पात्र चाहिन्छ । जुन पुरुषले हातमा नाङ्गो तरबार बोकेर मभित्र युगौँदेखि बाँचिरहेका कालो विषधारी नागलाई टुक्राटुक्रा पार्न सक्छ त्यो पुरुष मात्र मेरो राजा बन्न सक्छ । अन्यथा मेरो यही अभिशप्त स्वरूप नै मेरा लागि उपयुक्त छ ।’ 

बघेनी फेरि चुपो लागेकी थिई । शायद कथा सकिएको हुनुपर्छ । अब यसको अस्तित्वको मसँग सरोकार रहेन । तर यसलाई विसर्जन गर्नुपर्छ । सोच्दै मात्र थिएँ । 

‘ए लेखक, तिमी मलाई मेरो शिशिरसान्निध्य साहसी लाग्यौ ! आऊ मलाई वरण गर ।’ 

अचानक बघेनीको आवाज आएको थियो । 

‘म पनि स्त्री हुँ । तिमीलाई मैले वरण गर्नुको केही औचित्य हुने छैन बघेनी ।’ 

बघेनीको अप्रत्यासित प्रस्तावले म भित्रैबाट काँपिसकेको थिएँ । 

‘ए लेखक, तिमी फगत आत्मा हौ, स्त्रीपुरुषको अर्थ बेतुक हो । तिमीमा भएको अदम्य साहसले मभित्रको कालो नागको संहार गर्न सक्नुपर्छ । केवल त्यत्ति गरिदेऊ । आऊ र मलाई वरण गरेर यस कुण्ठित र अभिशप्त अस्तित्वबाट मलाई मुक्त गरिदेऊ ।’ 

यतिबेला बघेनीको आवाज तरल सुनिदै थियो । उसका भुजास्थानमा लर्किएका केस्राहरू अङ्कमालका लागि उठिरहेका थिए ।

म सपना र विपनाको दोभानमा थिएँ । संत्रस्त म आफ्नो दसौँ तलाको अपार्टमेन्टको ढोकाबाट निस्केर लिफ्टबाट तल ओर्लें । त्यसपछि बेतोड गतिमा सडकमा दौडिरहेको थिएँ । 

अहो ! यो विपनै थियो अथवा सपना ! 

‘आजसम्म म शिशिर नै पर्खिरहेछु । हरेक पुरुषलाई मभित्रको नागले विष पोखेकै थियो । मभित्रको कालो नागको हत्या गर्ने पुरुष यहाँ कोही भएनन् । फगत पुरुषको खोल ओढेका पुरुष मात्र मेरो अन्तःपुरमा पसे ।

ए लेखक ! तिमीले शिशिरलाई भेटेका छौ ? म उसैलाई युगौँदेखि पर्खिरहेकी छु । मभित्रको नाग उसको तरबारले काटिन सक्छ । अदालतको गर्भगृहबाट शिशिरले मात्रै नागको विषदाँत उखेलेर फाल्न सक्छ । लेखक मेरो शिशिरलाई भेट्यौ भने म पर्खिरहेकी छु भनिदेऊ है ।’

बघेनी वाणीले मेरो मथिङ्गल घोचिरहेछ । 

यतिबेला मेरो कथामा शिशिरवसन्त कतै छैनन् । यहाँ तिनै शिशिरकी रानीलाई भने मैले भेटेको थिएँ । आफैँले बघेनी बनाएकी अभिशप्त रानीको त्रासले तर घरि अभिशप्त स्त्री र घरि पुरुष अभिशप्तताले लखतरान अस्तित्वहरूका जुलुस अघिपछि लगाएर म भागिरहेको छु । 

बघेनी सादृश्य अस्तित्वविहीन अस्तित्व बन्नसक्ने आशङ्काले भयग्रस्त अस्तित्व थाकेर पनि दौडिरहेछ । 

प्रयोगवादी कथा