• २९ असार २०८२, आइतबार

भानुभक्तका काव्य–साधना सबैका लागि प्रेरणादायक : उपराष्ट्रपति

blog

उपराष्ट्रपति रामसहायक प्रसाद यादव

काठमाडौँ, असार २९ गते । उपराष्ट्रपति रामसहायक प्रसाद यादवले नेपाली साहित्यको उज्यालो युगको सूत्रधारहरुमध्ये एक रहनुभएका आदिकवि भानुभक्तको काव्य–साधना र उच्च सामाजिक सोच आज पनि सबैका लागि प्रेरणादायक भएको बताउनुभएको छ ।

आइतबार आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘भाषा, संस्कृति र साहित्यप्रति अगाध प्रेम जागृत गराउनमा यो अवसरले सबैलाई उच्च अठोट तथा दृढ सङ्कल्पका साथ अघि बढ्न हौशला प्राप्त होस् । भानुभक्तको आदर्शबाट प्रेरित भई राष्ट्र निर्माणका मार्गमा निःस्वार्थ भावले अघि बढ्न यो अवसर एउटा उत्प्रेरक बन्न सक्ने विश्वास लिएको छु ।’’  

उहाँले वाल्मीकि रामायणको सरल, सहज र सर्वसुलभ नेपाली अनुवाद गरी जनमानस समक्ष पुर्‍याउन आदिकवि भानुभक्तको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

‘‘यो अनुवादमार्फत् उहाँले नेपाली भाषालाई धार्मिक, नैतिक, सांस्कृतिक मूल्यहरुसँग जोडेर सुदृद्ध बनाउनुभयो । यो जन्मजयन्ती हाम्रा साहित्यिक र सांस्कृतिक मूल्यहरुलाई पुनर्जागृत गर्ने र भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने महत्वपूर्ण अवसर पनि हो । यसको मुख्य उद्देश्य भनेको भानुभक्तले स्थापित गर्नुभएको साहित्यिक परम्परालाई जीवन्त राख्नु, नेपाली भाषाको संरक्षण र प्रवर्धन गर्नु हो । उहाँका रचनाहरुले सत्य, धर्म र नैतिकताको मार्गमा अडिग भई अघि बढ्न सदैव अभिप्रेरित गर्दछन् ।’’ उपपराष्ट्रपतिद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

यसैगरी, भानुभक्तका रचनाहरु विशेषतः रामायणसहित ‘घाँसी’ र ‘प्रश्नोत्तर मालिका’ ले हामीलाई मानवतावाद, कर्मठता र सामाजिक उत्तरदायित्वको मार्गमा हिँड्न सिकाउने उहाँको भनाइ छ । उहाँको रामायणले जीवनमा आदर्श, धैर्य र कर्तव्यको महत्त्वलाई उजागर गरेको छ भने ‘घाँसी’ कविताले साधारण व्यक्तिको परिश्रम र निष्ठाले समाजमा कसरी अमर कीर्ति स्थापित गर्न सक्छ भन्ने महत्त्वपूर्ण सन्देश दिएको छ । यी रचनाहरुले आफ्नो संस्कृति र मूल्यहरुप्रति गर्व गर्न र तिनलाई संरक्षण गर्न प्रेरित पनि गर्दछन् ।

‘‘आजको विश्वव्यापीकरणको युगमा, विश्व एक ‘डिजिटल’ गाउँमा परिणत भएको अवस्थामा हाम्रो भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्नमा भानु जयन्तीको उपादेयता र महत्व झनै बढी सान्दर्भिक छ । जन्मजयन्तीको यो अवसरले नयाँ पुस्तालाई नेपाली साहित्यप्रति मोहित र प्रेरित गर्न सकोस् ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘सबै नेपालीहरुलाई आदिकवि भानुभक्त आचार्यका रचनाहरु पढ्न, सन्देश आत्मसात गर्न र नेपाली भाषा एवं साहित्यको प्रवर्धनमा महत्वपूर्ण योगदान गर्न सक्नुपर्दछ । शैक्षिक संस्था, साहित्यिक सङ्घसङ्गठन र सम्पूर्ण नेपाली समुदायहरुले आदिकविका रचनाहरुलाई जीवन्त राख्न सक्रियताका साथ थप पहल गर्नु आजको आवश्यकता हो ।’’