• १३ असोज २०८१, आइतबार

निजी स्वार्थ त्यागेर काम गर्नसके आर्थिक समृद्धि सम्भव: मन्त्री किराँती

blog

मन्त्री किराँती कार्यक्रममा बाेल्नुहुँदै । तस्बिर –हरि काेइराला

हरि काेइराला

उर्लाबारी, फागुन २ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले निजी स्वार्थ त्यागेर काम गर्न सके आर्थिक समृद्धि सम्भव भएको बताउनुभएको छ ।

मोरङको उर्लाबारीमा नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर समितिले आयोजना गरेको बधाई शुभकामना तथा भेटघाट कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

किराँतीले भन्नुभयो – ''हिजो जीवन त्याग्नु पर्थ्याे । आज निजी स्वार्थमात्र त्याग्दा सुधार सम्भव हुने अवस्था छ ।''

उहाँले चुनौतीपूर्ण घडीमा मन्त्री हुँदा बाघको घोडा चढेको अनुभूति भइरहेको बताउँदै आगोको कुर्सीमा बसेर थिलथिलो भएको देशको अर्थतन्त्रलाई सुधार्ने जिम्मा वर्तमान सरकारलाई रहेको बताउनुभयो ।

उहाँले सरकारलाई परिणाम ननिकाल्ने छुट नभएको उल्लेख गर्दै एउटा कामका लागि १० वटा कार्यालय धाएर घुस खुवाउने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभयो । 

सोमबार विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गर्न मोरङ आउनुभएका मन्त्री किराँती सोमबार बेलुका मोरङको मिक्लाजुङ–१ रमितेखोला पुग्नुभएको थियो । सोमबार पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएर उत्तरी मोरङको रमितेखोला पुग्नुभएका मन्त्री किराँतीले विराटनगर विमानस्थलमा बन्ने नयाँ टर्मिनल भवन पूर्वी नेपालको हवाई क्षेत्रमा कोसेढुङ्गा बन्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– ''३ वर्षमा ३ अर्ब रुपियाँ खर्चेर बन्ने नयाँ टर्मिनल भवन भैरहवा र पोखराको भन्दा ठूलो, आधुनिक र सुविधा सम्पन्न बन्नेछ ।'' 

अर्को एक फरक प्रसङ्गमा मन्त्री किराँतीले अरुलाई दोष दिनुभन्दा आफ्नो कमीकमजोरी खोजेर सच्चिन जरुरी रहेकाे बताउँदै टुक्रिएको कम्युनिष्ट पार्टीलाई एकीकरण गरी समाजवादी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

पार्टीका उर्लाबारी नगर इन्चार्ज तारीलाल धिमालको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार महेन्द्रजङ्ग तामाङ, प्रदेश सचिवालय सदस्य प्रेमकुमार मिभक, जिल्ला सचिव प्रकाश पौडेल र मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलको उपस्थिति थियो ।