• ११ असार २०८१, मङ्गलबार

नौबिसे–नागढुङ्गा सुरुङमार्गको म्याद तेस्रो पटक थप

blog

काठमाडौँ माघ २८ गते । नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद नौ महिना थप भएको छ । निर्धारित समयमा सुरुङ्गमार्गको काम नसकिने भए पनि पुनः नौ महिना म्याद थप गरिएको आयोजना प्रमुख माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना सन् २०२४ को अप्रिल २५ सम्म म्याद कायम भएको छ । 

धादिङ सिस्ने खोलादेखि काठमाडौँ सतुङ्गल जोड्ने आयोजनाको यसअघि पनि ८६ दिन म्याद थप गरिएको थियो। पहिले थपिएको म्याद आगामी जुलाई महिनामा सकिँदै थियो । तर, निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै नसकिने भनेर म्याद थप्न प्रस्ताव गरेको थियो । आयोजना प्रमुख अधिकारीले भन्नुभयो,“निर्माण कम्पनीले पहिले थपेको म्याद अनुसार तोकेको समयमा काम सम्पन्न नहुने भन्दै म्याद थपको लागि प्रस्ताव गरेको थियो । सोही बमोजिम नौ महिना म्याद थप गरी सन् २०२४ अप्रिल २५ सम्म पुर्‍याएका छौँ ।” सुरुङ मार्ग निर्माणको जिम्मा हाज्मा आन्द्रो जेभीले पाएको छ । 

आयोजनाको अहिलेसम्म ४७.९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । अधिकारीका अनुसार निर्माण कम्पनीले बाँकी काम थप गरेको समय सीमामै सक्ने प्रतिबद्धता जनाएको छ । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले बाँकी काम थप गरेको मितिमै सक्ने प्रतिबद्धता जनाएको छ । अव अन्य अवरोध नभएकाले काम समयमै सकिने आङ्कलन गरेका छौँ ।” यसअघि सुरुङ निर्माणमा पनि पटक–पटक भौगर्भिक समस्या देखिएको थियो। यस कारण तोकिएको समयमा नसकिने हो कि भन्ने चिन्ता व्यक्त गरिएको थियो। अहिले सुरुङ निर्माणमा भौगर्भिक समस्या नदेखिएकाले अव थपिएको म्याद मै आयोजना सकिने सम्भावना रहेको उहाँले सुनाउनुभयो । सुरुङ निर्माण मात्रै भने आगामी असारसम्म सक्ने तयारी छ । कोभिड महामारीका कारण पनि आयोजनाको निर्माण कार्य पछाडि धकेलिएको थियो । “आयोजनाका अनुसार अहिले निरन्तर काम भइरहेको छ। यसरी नै काम निरन्तर भयो भने थपिएको अवधिमा काम सकिन्छ,” उहाँले भन्नुभयो । आयोजनाको मुख्य सुरुङ दुई हजार ६ सय ८८ मिटर लामो छ। हाल यस सुरुङको पूर्वतर्फ ८५१.२० मिटर र पश्चिम तर्फ बाट ९३१.६० मिटर गरेर जम्मा एक हजार ७७८ मिटर खनिसकिएको उहाँले बताउनुभयो । 

सुरुङको मात्र भौतिक प्रगति ७३.३० भएको अधिकारीको भनाइ छ । त्यस्तै ‘इभ्याकुएसन’ सुरुङको कुल लम्बाइ दुई हजार ५५७ मिटर छ । यसको दुई हजार ४६.२० मिटर सुरुङ खनिएको छ। त्यसमा पूर्वबाट एक हजार ९८.६० मिटर र पश्चिमबाट नौ सय ४७.६० मिटर सुरुङ खनिएको छ। तीन वटा अन्डर पास निर्माणको काम भने सकिएको छ । त्यस्तै चार वटा बक्स कलभर्ट एउटा ओभर पास ,तीन वटै पुल निर्माण सकिएका छन्। फ्लाइटभर एउटा निर्माण गर्नुपर्नेमा यसको ९५ प्रतिशत काम सकिएको अधिकारीले बताउनुभयो । क्रस–प्यासेज भने ७४.२० मिटर निर्माण सकिएको छ । त्यसको कुल लम्बाइ एक सय २८ मिटर छ। आयोजनाको ठेक्का र मुआब्जा गरेर कुल लागत करिब २२ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यसअघि २० अर्ब ६० करोड रुपैयाँमा आयोजना पूरा गर्ने उल्लेख थियो। जापानी येन बलियो हुँदै जाँदा लागत पनि बढेको हो। कुल लागतमध्ये १६ अर्बभन्दा बढी जाइकाले सहुलियत ऋण उपलब्ध गराउनेछ। बाँकी ६ अर्बभन्दा बढी रकम नेपाल सरकारको हुनेछ । 

सरकारले उपलब्ध गराउने रकम जग्गाको मुआब्जा, संरचना र अन्य प्रशासनिक कार्यमा खर्च हुने उल्लेख छ । जाइकाले उपलब्ध गराएको रकम भने ठेक्कामार्फत आयोजना निर्माणमा खर्च भइरहेको छ । 

के छ सुविधा ?

१२ मिटर चौडाइको सुरूङमार्गको दायाँबायाँ पैदल यात्रीका लागि पेटी रहनेछ । पेटी दुवैतर्फ एक एक मिटर रहनेछ । आकस्मिक अवस्थाका लागि छुट्टै एक लेनको सहायक सुरुङ रहन्छ। सुरुङमा भेन्टिलेटर र जेट फ्यानको सुविधा हुनेछ। यो सुरूङमार्ग नेपाल आलय निगम थानकोट डिपो नजिकै निस्किन्छ र पुनः त्रिभुवन राजपथमा जोडिन्छ। त्यहाँबाट त्रिभुवन राजपथमा जोड्न २.२५ किलोमिटर लामो तीन लेनको एक्सेस रोड रहन्छ । सुरूङमार्ग सञ्चालनमा आएपछि नागढुंगाको जाम हट्ने विश्वास लिइएको छ । यसले समयको बचत हुनुका साथै पेट्रोलियम पदार्थ खपतमा कमी आउने र वायु प्रदूषण कम हुने पनि विश्वास छ। अहिले धादिङ हुँदै काठमाडौँ प्रवेश गर्नेहरूले नौबिसेदेखि नै घण्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । सुरूङमार्ग सञ्चालन आएपछि नौबिसेबाट काठमाडौँ २० देखि २५ मिनेटसम्ममा आइपुग्ने दाबी छ ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।