• २१ वैशाख २०८१, शुक्रबार

२८ औं संस्करणको क्यान इन्फोटेक

‘नेपाल सूचना प्रविधिको क्षेत्र कमजोर छैन’

blog

काठमाडौं, माघ २४ गते। मंगलबारदेखि २८ औं संकरणको क्यान इन्फोटेक प्रदर्शनी सुरु भएको छ। क्यान महासंघको आयोजनामा सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनीको उद्देश्यसहित काठमाडौंको भृकुटीमण्डपमा क्यान इन्फोटेक प्रदर्शनी आयोजना गरिएको हो। 

क्यान महासंघका अध्यक्ष रञ्जित कुमार पोदार का अनुसार  यो प्रदर्शनी माघ २९ गतेसम्म सञ्चालन हुनेछ। विज्ञान तथा प्रविधिमा आधारित सामग्री प्रदर्शनीमा राखिएको छ। नेपाली आविष्कार, प्रतिभा र स्टार्टअपलाई प्रदर्शन गरिएको उहाँको भनाइ छ।  उहाँले भन्नुभयो, “यो प्रदर्शनीमा नवीनतम विज्ञान तथा प्रविधिजन्य सामाग्री राखिएको छ। यसमा हार्डवर सफ्टवेयर, स्टार्टअप सबै कुरा समावेश भएको छ।। कुन ल्यापटप किन्ने, कुन  मोबाइल किन्दा राम्रो हुन्छ या इन्टरनेट कस्तो रोज्ने यसको बारेमा जानकारी पाउनुहुनेछ।”  

नेपालमा निर्माण भएका सफ्टवेयर बाहिरी देशमा बिक्री भइरहेकाले नेपालको आईसिटी क्षेत्र कमजोर नभएको उहाँको भनाइ छ। तर, नेपालीले नेपालकै आईसिटी क्षेत्रप्रति विश्वास नगरेर बाहिरी देशको सफ्टवेयरमा विश्वास गर्ने प्रचलन रहेको उहाँको भनाइ छ। प्रदर्शनीमा ब्राण्डिङ् प्रडक्ट लन्चिङ्सँगै आईसिटी करिअर सम्बन्धी ज्ञान मिल्नेछ। प्रदर्शनीमा दैनिक जीवनमा प्रयोग हुने इन्डक्सन चुह्लो, उच्च गतिका इन्टरनेट, विभिन्न ब्राण्डका टेलिभिजन, आईसिटी खेल लगायतका विद्युतजन्य सामग्रीको प्रदर्शन गरिएको छ। 

प्रदर्शनीमा आएर विद्यार्थीले नयाँ टेक्नोलोजी र भोलिका दिनमा के सिक्ने भन्ने कुराको जानकारी प्राप्त गर्नेछन्। पछिल्लो समय साइबर सुरक्षाको चुनौती बढ्दै गइरहेकाले यो प्रदर्शनीले चुनौतीको विषयमा पनि ज्ञान प्रदान गर्ने उहाँको  भनाइ छ। दैनिक जीवनमा प्रयोग भएका इलेक्ट्रोनिक डिभाइसको प्रयोग कसरी गर्ने र समस्या आए यसको समाधानका लागि के गर्ने भन्ने कुराको पनि जानकारी मिल्ने उहाँको भनाइ छ। 

प्रदर्शनीको अवलोकन गर्न आउनुभएका दर्शन अवस्थीले यसपटकको प्रदर्शनी पहिलेको भन्दा फरक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “म क्यान इन्फोटेक प्रदर्शनीको प्रत्येक वर्ष अवलोकन गर्ने गरेको छ। यसअपघिका प्रदर्शनी व्यावसाय लक्षित हुने गरेको थियो तर अहिलेको भने आविष्कार लक्षित र दैनिक जीवनमा प्रयोग हुने वस्तुहरुको नै प्रदर्शनी पाएँ। 

यस्तै अर्का अवलोकनकर्ता आस्था सुवेदीले प्रदर्शनीबाट सञ्चार तथा सूचनाको क्षेत्रमा धेरै ज्ञान मिलेको बताउनुभयो।“प्रदर्शनीमा नयाँ नयाँ कुराको आविष्कार र युवा लक्षित आइसिटी बेस स्टल रहेछन्। यसले  प्रविधिको क्षेत्रमा नयाँ ज्ञान मिलेको छ,” उहाँले भन्नुभयो। 

यस्तै, अवलोकनकर्ता गोपालकृष्ण गर्तौला यो प्रदर्शनीले नेपालको आईसिटी क्षेत्रमा नयाँ अन्वेषणको थालनी भएको बताउनुभयो। उहाँले भन्नुभयो, “यो प्रदर्शनीमा नयाँ आविष्कार के भएको रहेछ भनेर हेर्न आएको हुँ। केही त धेरै नयाँ अन्वेषणका कुरा हेर्न पाइयो। नेपालमा आईसिटीले धेरै फड्को मारेको पाएँ। हामी पनि आईसिटीको क्षेत्रमा त धेरै अगाडी बढिसकेछौँ।”

सन् १९९५ बाट यो प्रदर्शनीको थालनी भएको हो। सुरुमा  तीन दिनमा जम्मा पाँच हजार मानिसले अवलोकन गरेका थिए। पछि भने अवलोकन गर्ने मानिसको संख्या बढ्दै आएको उहाँको भनाइ छ। यो प्रदर्शनीम भने साढे तीन लाख मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। मधेश प्रदेशमा फागुन ५ देखि ९ सम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि १७ सम्म, गण्डकीमा फागुन २६ देखि ३० सम्म र बागमतीमा चैत्र २ देखि ६ गतेसम्म क्यान इन्फोटेक प्रदर्शनी गर्न लागिएको क्यान महासंघका अध्यक्ष पोब्दारले बताउनुभयो। भिडियो : मनोजरत्न शाही र केशब गुरुङ

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।