• ८ मंसिर २०८१, शनिबार

समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकबाट

blog

गोकर्ण पौडेल
तुलसीपुर, माघ २२ गते ।
समस्याग्रस्त घोषणा गरेकोे सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नेपाल राष्ट्र बैंकबाटै हुने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा केन्द्रीय कार्यालय रहेको संस्थालाई राष्ट्र बैंकले २३ करोड रकम अनियमिता भएको ठहर गर्दै समस्याग्रस्त घोषणा गरेको थियो ।

लघुवित्त सस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणपश्चात् माघ २३ गतेदेखि राष्ट्र बैंकले ‘नियुक्त अधिकारी’ (व्यवस्थापन समूह)नियुक्त गरी संस्थाको कार्यालयमा पठाउने भएको छ ।

राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोख्रेलले माघ २३ गते सोमबारदेखि नै तीन सदस्यीय व्यवस्थापन समूह पठाउन थालिएको बताउनुभयो । उहाँले समूहमार्फत संस्थागत शुद्धीकरण, नियमन र आर्थिक पारदर्शिताबारेमा व्यवस्थापन सञ्चालनको व्यवस्था गरिएको बताउनुभयो ।

समूहले संस्थाको आर्थिक सबलीकरणमा ध्यान दिनेछ । बैंकले एक हप्ता अघि नै व्यवस्थापन समूह नियुक्त गरेर पठाउने निर्णय गरेको थियो । संस्थाका कायममुकायम कार्यकारी अधिकृत बुद्विराम चौधरीले बैंकले व्यवस्थापन समूह पठाउने निर्णयबारे जानकारी प्राप्त नभएको बताउनुभयो । उहाँले संस्थामा कुनै परिपत्र प्राप्त नभएको बताउनुभयो ।

बैंकले २०७८ चैत्र २ गते सोधेको स्पष्टीकरणमा समेत चित्तबुझ्दो जवाफ नपाएपछि लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो । बैंकले बैंक तथा वित्तीय सस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी नियमावली २०७४ को विनीयम ३ को खण्ड (क), (ख) र (ग) बमोजिम कारबाही गरी उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

लघुवित्तका सञ्चालक समितिका अध्यक्ष किरण चौधरीको प्रत्यक्ष सहभागितामा रकम अनियमितता भएको बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकले नै नियमन तथा अनुगमन गर्ने अधिकार छ । वार्षिक रुपमा लेखापरीक्षण गर्ने अधिकारसमेत बैंकलाई छ । बैंकले सुपर लघुवित्तको अडिट गर्ने क्रममा २३ करोड ऋण प्रवाहमा शङ्कास्पद देखिएपछि स्थलगत अनुगमन तथा विशेष निरीक्षणपश्चात् समस्याग्रस्तको रुपमा घोषणा गरेको थियो ।

बैंकको आग्रहमा जिल्ला प्रहरी कार्यालय दाङले लघुवित्तका कायममुकायम कार्यकारी अधिकृत चौधरी, तुलसीपुर शाखा प्रमुख सञ्जीव चौधरी र बिजौरी शाखा प्रमुख यशोदा थापालाई नियन्त्रण लिएर अनुसन्धान गरेको थियो । तीन जना उच्च अदालतको आदेशमा धरौटीमा छुटेका थिए ।

संस्थाले २०५९ सालदेखि कारोबार सुरु गरेको थियो । संस्थाले दाङ, बाँके, बर्दिया र कपिलवस्तु जिल्लाका २४ शाखाको माध्यमबाट १६ हजार सदस्यलाई लघुवित्तमा जोडेको चौधरीले बताउनुभयो । लघुवित्तले  ५८ करोड ५० लाख ऋण पर्वाह गरेको छ । लघुवित्तले प्रभु बैंक, साइन रेसुङ्गा डेभलममेन्ट बैंक, सांग्रिला डेभलममेन्ट बैंक र आरएसडिसीमार्फत ऋण लिएर ऋण प्रवाह गरिरहेको छ ।