वि.सं. २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एक पटक प्रधानमन्त्री बन्छु र देश, जनताका लागि देखिने गरी केही काम गर्छु भनेर वाचा गर्नुभएको थियो । माओवादी आन्दोलनमा प्रचण्डका नामले ख्याति कमाएका उहाँ यसअघि दुई पटक प्रधानमन्त्री भइसक्नुभएको थियो तर त्यतिबेला खासै उपलब्धिमूलक काम गर्न नसकेको स्वीकारोक्तिका साथ तेस्रो पटक केही न केही काम गरेर देखाउने प्रतिबद्धताका साथ प्रचण्ड प्रधानमन्त्रीको आसनमा बस्नुभएको छ ।
अहिलेसम्मका काम हेर्दा जनतालाई प्रत्यक्ष रूपमा असर गर्ने यही काम भयो भनेर भन्न सक्ने अवस्था नभए पनि लोकतन्त्र र संविधानको सुदृढीकरणका लागि उहाँबाट भएका प्रयासले केही आशा जगाउने काम गरेको छ । विभिन्न सात राजनीतिक दल र स्वतन्त्र सांसदसहितको समर्थनमा प्रधानमन्त्री बन्नुभएका प्रचण्डलाई उहाँले सोचेजत्तिकै काम फत्ते गर्न सहज त छैन तर दृढविश्वासका साथ अघि बढेमा असफल हुनुपर्ने अवस्था आउने पनि देखिँदैन ।
प्रतिपक्षमा रहँदा रहँदै पनि संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससमेतले समर्थन जनाएपछि संसद्को ठूलो हिस्साको विश्वास प्राप्त गरेका प्रधानमन्त्रीलाई सबै दललाई मिलाएर काम गर्नुपर्ने चुनौती थपिएको छ । यो अवस्थामा सानातिना व्यवधानलाई पन्छाएर अघि बढ्ने सुअवसर प्राप्त भएको छ । प्रचण्डलाई समर्थन गरेर प्रधानमन्त्री नबनाएकोमा कांग्रेसले पछुतो मानेको छ । सत्तास्वार्थमा झुमेका केही पक्षहरू कांग्रेस सभापति शेरबहादुर देउवालाई गुमराहमा राखेर कांग्रेसलाई माओवादी केन्द्रबाट टाढा पु¥याउने गरी खेलिएको खेललाई सच्याउने अभिप्रायले प्रचण्डलाई साथ दिएको छ । यो साथलाई प्रचण्डले पनि सौहार्दका साथ स्वीकार गरेर आफ्ना क्रियाकलाप सञ्चालन गर्ने सन्देश दिएको अवस्था छ ।
राजनीतिक अवस्थालाई सुधार गर्ने क्रममा प्रधानमन्त्रीका अभिव्यक्तिले सुखद सन्देश दिइरहेका छन् । संसद्को बाध्यात्मक परिस्थितिले मन्त्रीहरू चयन गर्दा ध्यान पु¥याई सही व्यक्तिको चयन गर्ने अवसर प्रधानमन्त्रीलाई नभए पनि त्यसपछिका अवस्थामा दबाबमा अघि बढेर जस्तोसुकै गलत परिस्थितिलाई पनि सहर्ष स्वीकार गरी राजनीति र सरकारलाई धमिल्याउने कार्यमा प्रधानमन्त्रीको मनसाय नदेखिनुले मुलुकका लागि केही सकारात्मक सन्देश दिएको ठानिएको छ । आफूलाई प्रधानमन्त्री बनाउन समर्थन गरेकै कारण अन्य राजनीतिक दलका असहज हुने मागलाई प्रधानमन्त्रीले स्वीकार नगर्नुलाई अधिकांशले प्रशंसा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसद नरहेकै अवस्थामा पुनः उपप्रधानमन्त्री एवं गृहमन्त्री बनाउन निरन्तर दबाब दिएका समाचार बाहिर आइरहेका छन् । यस विषयमा अदालतको पूर्णपाठ बाहिर आउनै बाँकी छ । त्यसमाथि राहदानी प्रकरणको विवाद त अझै जस्ताको तस्तै नै छँदै छ । अर्को कुरा राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्रीले भन्ने गरेका कुराले पनि राजनीतिमा चासो राख्नेहरूलाई खुसी नै बनाएको छ । आफूलाई समर्थन गरेर प्रधानमन्त्री बनाएको दलले राष्ट्रपति चाहिन्छ भनेको अवस्थामा पनि मुलुकको गरिमामय एवं सर्वोच्च पदमा सर्वस्वीकार्य व्यक्ति राष्ट्रिय सहमतिमा निर्वाचित गर्नु सर्वोचित हुन्छ भनी अडान राखेको परिदृश्यले सबैलाई आशा जगाएको छ ।
आफ्नै पदलाई धरापमा राखेर मुलुकको सर्वोच्च पदका लागि योग्य व्यक्ति खोज्ने इच्छाशक्ति प्रधानमन्त्रीमा पलाएको देख्ने, बुझ्ने र विश्लेषण गर्नेहरूले यो नै उहाँको सर्वोत्कृष्ट कदम हो भनी सराहना गरेको पाइन्छ । आफ्नै मन्त्रिपरिषद्का सदस्यहरूले व्यवस्था र संविधानविरोधी कुरा गर्दछन् । संसद्मा त्यस सन्दर्भमा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिँदै आफ्ना मन्त्रीहरूलाई सचेत बनाउनुभएको छ ।
कुनै मन्त्रीले पहिलो बैठकमै म मन्त्रिपरिषद्को प्रतिपक्षी बन्छुसमेत भने । कुनै दलका फौजदारी अभियोग लागेका सांसद छन् । त्यस्ता सांसदलाई पक्राउ गर्न आदेश दिनुपर्ने अवस्था एकातिर छ भने ती सांसदलाई आफ्नो भन्ने दललाई फकाउँदै अघि बढ्नुपर्ने परिस्थिति अर्कोतिर छ । यस्तै अवस्था भए पनि प्रधानमन्त्रीले सही कुरामा अडान राख्दै जाने हो भने सरकारमाथि कुनै पनि प्रश्नचिह्न लाग्ने छैन ।
प्रधानमन्त्री पद मुलुकको संविधानको रक्षा गर्दै देश र जनताका लागि सेवामा जुट्ने पद हो । राजनीतिक रूपमा आएका समस्यालाई समाधान गर्दै अघि बढ्दा व्यवस्था सुदृढ हुँदै जाने त छँदै छ, यसको साथमा जनताका समस्या पनि हल हुँदै जानैपर्दछ । जनताका पीरमर्कामा सरकार मौन रहिरहने हो भने सरकार र व्यवस्थामाथि जनताको विश्वास टुट्दै जान्छ । सरकारबाट जनता टाढिँदै गए राजनीतिक दलका बीचमा जति दिगो सम्बन्ध भए पनि व्यवस्था र सरकारमाथि खतरा बढ्दै जान सक्छ ।
माघ २० गते चितवनका किसानले सडकमा तरकारी फ्याँके । गाँजर, गोलभेँडालगायतका विविध उत्पादन सडकमा गाडीले कुल्चेर हिँडेको देख्दा अधिकांशको मन रुन पुग्यो । संवेदनाविहीनहरूका लागि यो समाचारले रत्तिभर छोएन भने नेपाल, नेपाली र मेहनती हातहरूका प्रशंसामा जुट्नेहरूका लागि त्यो दृश्यभन्दा बढी दर्दनाक केही थिएन । यस्तो समाचार यो वर्ष मात्रै आएको होइन र यो प्रकृतिका घटना बारम्बार दोहोरिरहेको नेपाल कुन खाले समाजवादी नीति लिएर अघि बढेको छ, कसैले भन्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा सुधार ल्याउन प्रधानमन्त्रीले विशेष चासो दिनुपर्ने देखिएको छ । गोलभेँडा उत्पादन गर्न किसानलाई प्रतिकिलो १७ रुपियाँ लाग्दछ भनिन्छ । राजधानी वा सहरी क्षेत्रका बासिन्दाले आजभोलि ५० रुपियाँ प्रतिकिलो गोलभेँडा किन्ने गर्दछन् । जसले मेहनत गरेको छ, पसिना बगाएको छ, त्यो किसानले प्रतिकिलो पाँच रुपियाँ मात्रै पाउने कुरा जो कसैले सुन्दा पनि न्यायोचित लाग्दैन । यस्ता विषयमा सरकारको प्रत्यक्ष हस्तक्षेप जनताले हेर्न चाहेका छन् । किसानसंँग खरिद गरेर उपभोक्ताका भान्सामा पु¥याउन भूमिका निर्वाह गर्ने बिचौलियाको अंश कति र किसानको कति भन्ने निक्र्योल सरकारले गर्नुपर्ने देखिएको छ । नेपाली उत्पादन बिक्री नहुने तर आयातित तरकारी बजारमा सहजै उपलब्ध हुने अवस्था कसले सिर्जना गरेको छ, पत्ता लगाई यसको शीघ्र निराकरण आवश्यक देखिएको छ ।
विभिन्न पीडाका बीच इलामका प्रेम आचार्यले आत्महत्या गरे । यस्ता दर्दनाक घटना भइरहे नेपालीको मनोबल घट्दै जान्छ । मनोबल नभएका नागरिकबाट मुलुकको उज्ज्वल भविष्यको अपेक्षा गर्न सकिँदैन । त्यसैले नागरिकको मनोबल उठाउन सरकारले आवश्यक कार्य छिटोभन्दा छिटो गरोस् भन्ने चाहना सबैको छ । यस्तै यस्तै विडम्बनाका बीचमा रहनुपर्ने बाध्यताका कारण नेपालका युवा विदेश पलायन हुन बाध्य भएका छन् । आफ्नै मातृभूमिमा दुई छाक खान पाउने भए कुनै पनि नेपाली विदेशिने रहर पाल्दैनथ्यो होला ।
सबै युवालाई आफ्नै बाबुआमाको काखमा बसेर केही व्यवसाय गर्दै नेपालमै जीवन बिताउने रहर हुन्छ भन्नेमा कसैलाई शङ्का छैन । २५ वर्ष नाघेको कुनै पनि युवा आफ्नी श्रीमतीसँगै बसेर जीविकोपार्जन गर्न लालायित हुन्छ भन्नेमा कसैले पनि सन्देह गर्दैन तर पनि श्रीमतीलाई वृद्ध बाबुआमाका साथमा छाडेर नेपाली युवा विदेश होमिएका छन् । युवा विदेशमा रुँदै पसिना बगाउने र वृद्ध घरमा एक्लै रुन बाध्य छन् ।
गाउँको उत्पादनले रोजीरोटी चल्ने अवस्था अर्थात् किसानले मेहनतको मूल्य पाउने अवस्था राज्यले सिर्जना गर्न सकेमा एकातिर परिवार एकीकृत हुने र अर्कोतिर बाँझा जमिन हराभरा भएर आयात प्रतिस्थापन हुने अवस्था पनि आउन सक्दथ्यो । के सरकारको दृष्टि त्यतातर्फ जान सक्ला ? प्रधानमन्त्रीलाई आफ्नै दलभित्र र बाहिरका पनि विभिन्न समस्या समाधान गर्नुपर्ने अवस्था आउन सक्छ तर जस्तोसुकै अप्ठेरा आए पनि तिनलाई चिर्दै देश र जनताका लागि राष्ट्रिय सहमति निर्माण गरी आशाको दियो जगाउन प्रधानमन्त्री सफल हुने विश्वास गरिएको छ ।