राममणि दाहाल
मकवानपुर, चैत २० गते । हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा अवस्थित होटलहरुको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमको रुपमा काममा लगाइएको पाइएको छ ।
श्रम तथा रोजगार कार्यालय, हेटौँडा उपमहानगरपालिका, मनहरी गाउँपालिका, नेपाल प्रहरी, नगर प्रहरी र बाल हेल्पलाइन १०९८ को संयुक्त टोलीले अनुगमनको क्रममा बालबालिकालाई बालश्रमिकको रुपमा प्रयोग गरेको पाइएको हो ।
मनहरी गाउँपालिकाको मनहरी बजारका आठ वटा होटलमा अनुगमन तथा निरीक्षणको क्रममा तीन जना बालश्रमिक फेला परेका थिए । बालश्रमिक फेला परेका होटलहरुमा जीवन होटलमा एक बालिका, गुरुङ कोल्डस्टोरमा एक बालक, सुहिम होटलमा एक बालकले बालश्रम गरिरहेको अवस्थामा फेला पारिएको बालहेल्पलाइन १०९८ मकवानपुरका प्रवन्ध झविन्द्र ज्ञवालीले जानकारी दिनुभयो ।
टोलीले मनहरी गाउँपालिका ६ स्थित लोथरमा १३ वटा होटलमा टोलीले अनुगमनको तथा निरीक्षण गर्दा भने बालश्रम फेला नपरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बालबालिकाहरुलाई श्रममा होइन शिक्षा पठाउनु पर्छ भन्ने विषयमा सचेत रहेको पाइएकाे छ ।
गुरुङ कोल्डस्टोरमा फेला परेका बालकको आमा पनि सोही स्थानमा काम गर्ने र बालकले कक्षा ६ मा पढिरहेको छ । आमाले अब श्रममा नराख्ने प्रतिवद्धता गर्नुभएकोले बालक आमालाई जिम्मा लगाइएको छ । यस्तै सुहिम होटलमा कार्यरत बालकलाई तत्काल परिवारलाई बोलाइ जिम्मा लगाएको ज्ञवालीले बताउनुभयो ।
जीवन होटलमा कार्यरत बालिकालाई उद्धार गरी कानुनी कारबाही अगाडि बढाउन संरक्षणको लागि बालहेल्पलाइनमा पठाइएको श्रम तथा रोजगार कार्यालयको प्रतिनिधि शर्मिला राईले बताउनुभयो।
सुहिम होटलमा कार्यरत बालकको सन्दर्भमा श्रम तथा रोजगार कार्यालयले कानुनी कारवाहीको लागि व्यवसायीलाई सम्पर्कमा ल्याउने भएको छ । मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, बालकल्याण अधिकारी शैलेश बासकोटालगायतको अनुगमनमा सहभागिता रहेको थियो । पालिकाका उपाध्यक्ष सीता पुलामी मगरले मनहरीमा बालश्रमको प्रयोगमा विगतको तुलनामा निकै कम भएको बताउनुभयो ।
यस्तै बालश्रम अनुगमनका क्रममा हेटौँडा उपमहानगरपालिका १० स्थित ग्यारेज तथा फर्निचर पसलहरुमा अनुगमन गरिएकोमा बालश्रमिकहरु फेला नपरेको श्रम तथा रोजगार कार्यालयका प्रमुख रुद्र नारायण शाहले जानकारी दिनुभयो ।