• २० चैत २०८२, शुक्रबार

डुम्रे-बेँसीसहर सडक भोलिदेखि दैनिक आठ घण्टा बन्द हुने

blog

अमरराज नहर्की

तनहुँ, चैत २० गते । तनहुँ, लमजुङ र मनाङ जिल्ला जोड्ने डुम्रे-बेँसीसहर-चामे सडक खण्ड भोलि चैत २१ गतेदेखि दैनिक आठ घण्टा बन्द हुने भएको छ । डुम्रे-बेँसीसहर-चामे सडक योजनाअन्तर्गत सडक विस्तारको कार्यलाई तीव्रता दिन भानु नगरपालिकाको ढुकुर्दीदेखि तुरतुरे सम्मको क्षेत्रमा सवारी आवागमन रोकेर काम गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा जारी विज्ञप्तिअनुसार चैत २१ गतेदेखि चैत ३० गतेसम्म दैनिक दुई चरणमा सडक पूर्ण रूपमा अवरुद्ध हुनेछ । जसअनुसार दिउँसो १२ बजेदेखि ४ बजेसम्म र बेलुका ५ बजेदेखि राति ९ बजेसम्म सडक बन्द रहनेछ । यस अवधिमा भानु नगरपालिकाको चाम्बासदेखि तुरतुरे सम्मको सडक खण्डमा 'रोडवे एक्साभेसन' (सडक खन्ने) कार्य गरिनेछ ।

तनहुँ र लमजुङको सदरमुकाम बेँसीसहर हुँदै मनाङको सदरमुकाम चामेसम्म जोड्ने यो मुख्य मार्गमा सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्न सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ । 

सडक अवरुद्ध रहने समयमा यात्रुलाई वैकल्पिक मार्गका रूपमा तुरतुरे-पालुङटार-खत्रीटार हुँदै विमलनगरको बाटो प्रयोग गर्न अनुरोध गरिएको छ । सडक योजनाको पत्रका आधारमा निर्माण कार्यमा सहजीकरण गरिदिन प्रशासनले अपिल गरेको छ ।