• १३ असोज २०८१, आइतबार

टिप्परमा ढाला थपेर ‘ओभरलोड’

blog

काठमाडौँ, माघ १३ गते । ढाला थपेर माटो तथा निर्माण सामग्री बोकेका टिप्परलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । केही समयअघि प्रहरीले कारबाही गर्न थालेपछि टिप्परले अधिक भार (लोभरलोड) बोक्न छाडेका थिए तर अहिले पुनः टिप्परले ढाला थपेर क्षमताभन्दा बढी सामग्री बोक्न थालेका छन् ।  

तीनै तहको निर्वाचनको बेला प्रहरी प्रशासन निर्वाचनमा व्यस्त भएका बेला ओभरलोड गरी टिप्पर सञ्चालन गरिएका थिए । त्यसरी सञ्चालनमा आएका टिप्परमाथि प्रहरीले सक्रियता बढाएर निगरानी गर्न थालेको छ । ठूला आयोजनाका नाममा सङ्गठित रूपमै ढाला थपेर माटो बोक्न थालिएपछि त्यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो । केही समयदेखि नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङ हुँदै यस्ता ओभरलोडका टिप्परले माटो बोक्न थालेको गुनासो आएसँगै ट्राफिक प्रहरीले त्यस्ता सवारीमाथि निगरानी राखेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका ग्रामीण भेगबाट समेत ढाला थपिएका टिप्परले निर्माण सामग्री बोक्न थालेको गुनासो आएको थियो ।

एकातिर ढाला थपिएको छ, अर्कोतर्फ अधिकांश टिप्परको कागजपत्र नै छैनन् । 

एक सातामै सातदोबाटो, जगाते, कोटेश्वर, साँखु क्षेत्रमा ढाला थपिएका टिप्परलाई निर्माण सामग्रीसहित नियन्त्रणमा लिएर कारबाही थालेको जनाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले उपत्यकाका विभिन्न स्थानमा ओभरलोडसँगै ढाला थपेर आएका टिप्परलाई नियन्त्रणमा लिएको बताउनुभयो । नियन्त्रणमा लिइएका अधिकांश टिप्परको कागजपत्र नभएपछि बाटोमै रोकिएको उहाँले बताउनुभयो । 

“एकातिर ढाला थपिएको छ, अर्कोतर्फ अधिकांश टिप्परको कागजपत्र नै छैनन् । कागजपत्र लिएर आउनेलाई ढाला कटाउन लगाएर छाडे पनि कागजात पूरा नभएका धेरै टिप्पर भने नियन्त्रणमै छन्,” भट्टले भन्नुभयो । यातायात व्यवस्था विभागले ढाला थप्ने अनुमति दिएका टिप्परबाहेक अरूलाई यातायात व्यवस्था ऐनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाकामा कार्यरत ट्राफिक प्रहरीलाई टिप्पर सञ्चालकले गृह मन्त्रालयकै समन्वयमा चलाएको भन्दै अनावश्यक दबाब दिने गरेको  

सुरुमा ट्राफिक नियमअनुसार कारबाही गरिने भए पनि ढाला नै थप्ने टिप्परलाई भने यातायात व्यवस्था विभागमै पठाउने गरिएको उहाँले बताउनुभयो । काठमाडौँ उपत्यका भित्रिने प्रमुख नाकामा कार्यरत ट्राफिक प्रहरीलाई टिप्पर सञ्चालकले गृह मन्त्रालयकै समन्वयमा चलाएको भन्दै अनावश्यक दबाब दिने गरेको प्रहरीको गुनासो छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कानुन मिच्नेको संरक्षण गृह मन्त्रालयले नगर्ने बताउनुभयो । अनावश्यक रूपमा गृह मन्त्रालयको नाम देखाएर दबाब दिन खोज्नेलाई ठाउँको ठाउँ कारबाही गर्न निर्देशन दिइसकेको उहाँले स्पष्ट पार्नुभयो ।

पछिल्लो समय बढी कमाउने उद्देश्य लिई ओभरलोड हालेर सडकमा होडबाजी गर्दै सवारी गुडाउँदा दुर्घटना बढेको, सडकको आयु ह्रास हुँदै गएको र वातावरणमा समेत प्रतिकूल प्रभाव पार्ने गरेको अध्ययनले देखाएको छ ।