• १२ असोज २०८१, शनिबार

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्तीले सुरक्षा अवस्था सुदृढ

blog

इलामको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतको एसएसबीको संयुक्त गस्ती हुँदै । तस्विरः प्रेम अधिकारी

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), माघ १० गते । इलाम जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको दोहोरो गस्ती प्रभावकारी बनेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएपछि सीमा क्षेत्रमा नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाबल (एसएसपी) को संयुक्त गस्ती प्रभावकारी बनेको हो । 

नेपाल–भारत सीमा क्षेत्रको ५२ दशमलव ५ किलोमिटर इलाम खण्डका सात स्थानमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरी आफ्ना गतिविधि बढाएपछि सीमा क्षेत्रका नेपाली नागरिकले सुरक्षाको प्रत्याभूति गर्न थालेका छन् ।

इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको नेपाल–भारत सिमानाको ५२ दशमलव ५  किलोमिटरमा सशस्त्र प्रहरीले करिब ७/७ किलोमिटरको दुरीमा बीओपी स्थापना गरेको छ । अन्य केही स्थानमा बीओपी थप्ने तयारी भइरहेको छ । 

झापासँग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाको सलकपुर, सूर्योदय नगरपालिकाको समालबुङ, छब्बीसे, पशुपतिनगर, मानेभञ्ज्याङ, माईजोगमाई र सन्दकपुर गाउँपालिकाको सीमावर्ती जौबारी र सन्दकपुर गाउँपालिकाको कालपोखरीमा बीओपी स्थापना गरी सशस्त्र प्रहरी बस्न थालेपछि सीमा क्षेत्रका नागरिकले सुरक्षाको अनुभूति गर्न थालेको पाइएको छ ।

सीमा क्षेत्रमा हुने विवाद कम हुँदै

सशस्त्र प्रहरी बसेसँगै सीमा क्षेत्रमा हुने विवाद समेत कम भएको छ । सीमा अतिक्रमणलगायतका विषयमा पटक पटक विवाद भएका यी क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्न थालेपछि दुवै देशका नागरिकले सुरक्षाको प्रत्याभूति गर्न थालेका छन् । 

सीमा क्षेत्रबाट हुने चोरी तस्करी, अवैध धन्दा, हतियार ओसारपसार र वन्यजन्तुको तस्करीमा धेरै कमी आएको छ । पशुपतिनगरका सामाजिक अभियन्ता कमल गदालले सशस्त्र प्रहरीको उपस्थितिले सीमा क्षेत्रमा सुरक्षा मजबुत भएको बताउनुभयो । उहाँले वर्षौँदेखि विवाद हुँदै आएका क्षेत्रमा दुई देशका सुरक्षा अधिकारीबीच समन्वय भई संयुक्त गस्ती हुन थालेपछि विवाद कम भएको बताउनुभयो । 

सशस्त्र प्रहरी बल (बीओपी) पशुपतिनगरका प्रहरी निरीक्षक दिनेश आचार्यले प्रत्येक हप्ता सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्न थालेपछि दुबैतर्फको सुरक्षा  बलियो बनेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘दुवै तर्फको सीमा क्षेत्र संवेदनशील भएकाले संयुक्त गस्ती गरिएको हो ।’

सशस्त्र प्रहरी बल नेपाल इलामका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले संयुक्त गस्तीसँगै सीमा क्षेत्रबाट हुने सबै प्रकारका अपधार र अवैध कारोबार रोक्न दुई देशका सुरक्षा निकायबीच समन्वय हुन थालेको बताउनुभयो ।

प्रहरी उपरीक्षक सापकोटाले भन्नुभयो ‘दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीबीच समन्वय हुन थालेपछि सीमा क्षेत्रमा सुरक्षा बलियो भएको छ ।’ प्रहरी उपरीक्षक सापकोटाले सीमा क्षेत्र बलियो बने पनि नेपालतर्फ साना हतियारको व्यवस्थापन र ओसारपसारमा भने चुनौती रहेको जानकारी दिनुभयो । 

सशस्त्र प्रहरीले सिमानामा आयोजना गरेको छलफलमा भेला भएका स्थानीय र सरोकारवालाले पछिल्लो समय सीमा क्षेत्र शान्त बन्दै गएको अनुभव सुनाएका थिए । सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले पशुपतिनगर सीमा क्षेत्रको राजश्वमा समस्या रहेको बताउनुभयो । उहाँले नेपालतर्फ भन्सार भए पनि भारततर्फ भारतीय भन्सार कार्यालय नहुँदा निकासी पैठारीमा समस्या रहेको बताउनु भयो ।

तेस्रो देशका पर्यटक पशुपतिनगर नाकाबाट नआउँदा समस्या हुने गरेको छ । खुल्ला सीमा नाका भएका कारण पशुपतिनगरसहितका यी नाकाबाट मानव तस्करी समेत हुँदै आएको छ । कार्यक्रममा मानव बेचबिखन रोकथाममा काम गर्दै आएको शक्ति समूहले १६ महिनाका अवधिमा पशुपतिनगर नाकाबाट ५२ जनाको उद्धार गरेको जानकारी दिएको थियो । विभिन्न जिल्लाका महिलालाई पशुपतिनगर नाकाबाट भारत लैजाने गरिएको छ ।  

सीमा क्षेत्रमा प्रत्येक तीन/तीन किलोमिटरको दुरीमा भारतीय सीमा सुरक्षा बल (एसएसपी) विगतदेखि बस्दै आएकोमा नेपालतर्फ गत वर्षदेखि सशस्त्र प्रहरी बस्न थालेपछि अहिले प्रत्येक बीओपीले एसएसपीसँग मिलेर सीमा क्षेत्रमा संयुक्त गस्ती गर्दै आएका छन् । बीओपीले हरेक दिन सिमानामा निगरानी गर्ने गरेका छन् । 

सशस्त्र बस्नुअघि हिले, पुलखोला, छब्बीसे, पशुपतिनगर र सन्दकपुरमा सीमा विवाद समेत हुँदै आएको थियो । सिमानामा रहेका नेपालीले आफू नै भूमिमा संरचना निर्माण गर्दा पनि एसएसपीले रोक्ने गरेको थियो ।

सन्दकपुरका होटल व्यवसायी रिन्जी शेर्पाले सुरक्षा निकायको उपस्थितिले व्यवसायीलाई सहज भएको जानकारी दिनुभयो । उहाँले सिमानामा एकपक्षीय कब्जा जमाएको एसएसपीका कारण विगतमा धेरै दुःख पाए पनि त्यो क्रम अहिले रोकिएको बताउनुभयो । 

अहिले छिटपुट विवाद भइहाले पनि दुवैतर्फका सुरक्षाकर्मी बसेर मिलाउने गरिएको छ । सीमा स्तम्भको समेत सशस्त्र प्रहरीले नियमित निगरानी राख्ने गरेको छ । पशुपतिनगर भन्सारका प्रमुख प्रेम लामाले इलामका अन्य स्थानका छोटी भन्सार समेत चाँडै पुनः स्थापना हुने बताउनुभयो ।