• २४ फागुन २०८२, आइतबार

प्रचारमा प्रस्तावित प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री पराजित

blog

निर्वाचित भएपछि प्रमाणपत्र लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ।

विष्णुप्रसाद पोखरेल

दमक, फागुन २४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको साढे पाँच दशक लामो राजनीतिक विरासतलाई चुनौती दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह (बालेन) विजयी हुनुभएको छ । रास्वपाबाट प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार बालेन ऐतिहासिक नतिजा निकाल्दै संसदीय राजनीतिमा झापाबाट उदाउनुभएको छ । 

शाहले ६८ हजार ३४८ मत ल्याउँदै विजय हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी तथा निवर्तमान प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले १८ हजार ७३४ मत ल्याउनुभएको छ । यो ४९ हजार ६१४ मतको मतान्तर हो । निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत वेदप्रकाश शर्माका अनुसार यो क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता रहेको थिए । जसमध्ये एक लाख छ हजार ३७२ जनाले मतदान गर्नुभएको थियो । योसँगै शाह नेपालभर सबैभन्दा बढी मत ल्याएर जित्ने उम्मेदवार बन्नुभएको छ । शाह र ओलीबिचको मतान्तर अनपेक्षित भएको एमालेका स्थानीय नेता कार्यकर्ताको प्रतिक्रिया छ ।

निर्वाचन नतिजा स्वीकार्दै अध्यक्ष ओलीले बालेनलाई शुभकामना दिनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, “बालेन बाबु, विजयका लागि तपाईंलाई बधाई ! तपाईंको पॉचबर्से कार्यकाल निर्बिघ्न सफल रहोस् हार्दिक शुभकामना !”

झापा क्षेत्र नं ५ ओलीको तीन दशक लामो राजनीतिक आधार तथा इलाका रहँदै आएको थियो तर यस पटक मतदाताले परम्परागत घोषणा तथा एजेन्डा र दलगत निष्ठाभन्दा माथि उठेर ‘परिवर्तन र डेलिभरी’ लाई रोजेको बताएका छन् । शाहले आफ्नो निर्वाचन क्षेत्रमा एउटा पनि सार्वजनिक भाषण र ठुला सार्वजनिक कार्यक्रम नगरी निर्वाचन जित्नुभएको छ ।

मतदाताको अपेक्षा 

मुख्यतः भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध सुशासन र विकासको नारा दिएर दुई तिहाइ नतिजा उन्मुख रास्वपाबाट प्रधानमन्त्रीमा प्रस्तावित भएको हुनाले बालेनप्रति आममतदाताको ठुलो अपेक्षा देखिएको छ । “अब सरकारी अस्पतालमा जाँदा लाइन लाग्नु पर्दैन र बिमाबाट राम्रो उपचार हुन्छ भनेर विश्वास लिएको छु,” सरकारी दमक अस्पतालमा औषधी लिन लाइन बस्दाको पीडा सुनाउँदै मतगणनास्थलबाहिर मतपरिणाम पर्खेर बस्नुभएकी एक महिला मतदाताले भन्नुभयो ।

यहाँका युवा मात्र नभएर सबै उमेर समूहका मतदाताले निर्वाचनको नतिजालाई पहिलो पटक ‘मौन क्रान्ति’ गरेको बताउन थालेका छन् । “विकास नभएको होइन तर भौतिक विकासले मात्र जनतालाई पुगेन,” मतपरिणामको पर्खाइमा रहेका गौरादहका अर्जुन बास्कोटाले भन्नुभयो । पुराना दलबिचको सत्ता समीकरण र भागबन्डाको राजनीतिबाट आजित भएका मतदाताका लागि शाह नयाँ आयाम बनेर आएको झापा क्षेत्र नं ५ का मतदाता अशोक आचार्यले बताउनुभयो । “कहिले एउटासँग त कहिले अर्कोसँग मिलेर आलोपालो सत्तामा मात्र ध्यान दिएको उपज यो परिणाम हो,” उहाँको आक्रोश थियो ।

अर्का युवा महेश घिमिरेले भन्नुभयो, “यो जित केवल जितका लागि मात्र होइन, परिवर्तनका लागि हो । अब हाम्रो लक्ष्य जनताको अवस्था परिवर्तन गर्नु र क्षेत्रको विकासलाई अगाडि बढाउनु हो । हामी जसरी एकजुट भएर जिताउनका लागि लाग्यौँ, त्यसै गरी अब पनि सचेत रहँदै आवश्यक खबरदारी र साथ दिन्छौँ ।” शाहको जितले झापा मात्र नभएर समग्र नेपालकै राजनीतिमा सुशासन र समृद्धिको नयाँ अध्याय सुरु हुने मतदाताको विश्वास छ । रास्वपा र शाहको उदयले केन्द्रमा सरकार गठनको समीकरणलाई पूर्णतः प्रभावित पार्ने देखिएको छ । देशभर रास्वपाको लहर र बालेनको व्यक्तिगत छविले गर्दा अब बन्ने सरकारप्रति शाहका निर्वाचन क्षेत्रका मतदाताले धेरै अपेक्षा गरेका छन् । “अब शिक्षा र स्वास्थ्य निःशुल्क हुन्छ भन्ने विश्वास छ,” पहिलो पटक मतदान गर्नुभएकी समीक्षा आचार्यले भन्नुभयो । 

श्रम संस्कृतिको अर्थपूर्ण उदय

यस क्षेत्रमा नेपाली कांग्रेस र नेकपाका उम्मेदवारले ल्याएको मत निकै कमजोर रहेको छ । कांग्रेसकी उम्मेदवार मन्धरा चिमोरियाले एक हजार ८२१ र नेकपाका रञ्जित तामाङले एक हजार ५३६ मत ल्याउनुभएको छ । यी स्थापित दललाई पछि पार्दै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ भने नौ हजार २३३ मत ल्याउँदै तेस्रो बढी मत ल्याउने उम्मेदवार बन्नुभएको छ ।