• १३ साउन २०८१, आइतबार

कृषि उत्पादन वृद्धि हुनेगरी काम गर्छु : कृषिमन्त्री साह

blog

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह । फाइल तस्बिर

काठमाडौं, माघ ५ गते । कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्नुहुँदै मन्त्री साहले किसानहरुले खर्च अनुसारको उत्पादन गर्न नसकेको भन्दै कम खर्च गरी धेरै उत्पादन वृद्धि गर्नेगरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र हुने बताउनुभयो । मन्त्री साहले आम किसान निराश भएकाले अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउने धारणा राख्नुभयो ।

उखुको मूल्य प्रतिक्विन्टल २० रुपियाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा र कृषि बीमाको अनलाइन भुक्तानी गर्नेगरी निर्णय गरिरहेको उहाँको भनाइ छ । मन्त्री साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

आफू स्वयम् किसानको छोरी भएकाले आम किसानका मर्म र पीडा थाहा भएकाले मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु पहिलो प्राथमिकता रहेको उहाँको भनाइ छ । कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको बताउनुभयो ।

अब अनलाइन भुक्तानी हुनेगरी पहिलो निर्णय गराएको भन्दै राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भएको छ । मन्त्री साहले आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपियाँबाट बढाएर ६१० रुपियाँ पु¥याएको बताउनुभयो । मन्त्री साहले दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री साहले नेपालमा २५ मेट्रिक टन दूध उत्पादन हुने भन्दै दूधबाट दूध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गर्न सकिने जानकारी दिनुभयो । स्वदेशमै रोजगारी सिर्जना हुनेगरी काम गर्न सरकार लागिरहेको बताउनुहुँदै मन्त्री साहले अहिलेका चुनौती सामना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।