• २१ वैशाख २०८३, सोमबार

अनुशासन उल्लङ्घन गरेको आरोप लागेकालाई सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय

blog

फाइल तस्बिर

काठमाडौँ, चैत १८ गते ।  नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले अनुशासन उल्लङ्घन गरेको भनी आरोप लागेका व्यक्तिलाई सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय गरेको छ । 

नेपाली कांग्रेसका सचिव दिनेश थापा मगरका अनुसार बुधबार अनुशासन समितिका सयोजक तारामान गुरुङको संयोजकत्वमा पार्टी केन्द्रीय कार्यालय विपी. स्मृति भवनमा बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो । 

उहाँका अनुसार २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लङ्घन गरिएको भनी विभिन्न् जिल्ला र प्रतिनिधि सभा सदस्यका उम्मेदवारले समितिमा हालसम्म ५०७ जना व्यक्तिविरुद्ध परेका उजुरीलाई वर्गीकरण गरिएको छ । 

उहाँले भन्नुभयो, “छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लङ्घन गरेको भनी आरोप लागेका व्यक्तिबाट सात दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय गर्दछ ।”

निर्वाचनमा अनुशासन उल्लङ्घन गरेकालाई स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका, पार्टीका उम्मेदवारविरुद्ध प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारकाविरुद्ध अप्रत्यक्ष रूपमा विपक्षीलाई टेवा पुर्‍याएका, नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका, कांग्रेसबाट निर्वाचित भई प्रतिनिधि सभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका भनी वर्गीकरण गरिएको उहाँको भनाइ छ ।

उहाँले पार्टीको नक्क्ली लेटर प्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै जिम्मेवारीमा छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएको भन्दै सचेत गराइएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटर प्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ ।”