• १८ चैत २०८२, बुधबार

बिहीबारदेखि एसइई : पाँच लाखभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

blog

फाइल तस्बिर

काठमाडौँ, चैत १८ गते । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि सुरु हुँदैछ ।  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञवालीले एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष पाँच लाख १२ हजार ४७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । एसइई परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।

एक हजार ९६६ परीक्षा केन्द्र

एसइई परीक्षाका लागि देशभरका एक हजार ९६५ वटा र जापानमा एउटा गरी कुल एक हजार नौ सय ६६ परीक्षा केन्द्र तोकिएको छ । उपनियन्त्रक ज्ञवालीले परीक्षामा ११ हजार ३७० विद्यालयका विद्यार्थी सहभागी हुने जानकारी दिनुभयो ।

सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा रहेका छन् भने सबैभन्दा कम मनाङमा छन् । काठमाडौंका एक सय ३५ वटा परीक्षा केन्द्रबाट ४१ हजार १५५ जना विद्यार्थीले परीक्षा दिँदैछन्। सबैभन्दा कम मनाङमा एउटा परीक्षा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् । जापानमा रहेका केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुने छन् । 

उहाँले यसवर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८९५ जना विद्यार्थी परीक्षामा सहभागी हुने जानकारी दिनुभयो । एक पटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको छ । २०७९ सालमा नियमिततर्फ परीक्षामा सहभागी भएर हालसम्म उत्तीर्ण हुन नसकेका विद्यार्थी परीक्षामा सहभागी रहेको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “हामीले एक पटक परीक्षा दिएर सफल हुन नसकेका विद्यार्थीलाई कम्तिमा तीन पटक मौका दिने गरेका छौँ । पहिलो पटक पास नभएका विद्यार्थीलाई पूरक मौका दिइन्छ । पूरकका पनि पास नभएका विद्यार्थीले तीन पटक परीक्षा दिन पाउँछ । २०७९ सालमा नियमित समूहबाट परीक्षा दिएर अहिलेसम्म सफल नभएका विद्यार्थीलाई परीक्षा फारम भर्ने अवसर दिएका थियौँ । त्यस्ता परीक्षार्थी पनि हुनुहुन्छ । यसवर्ष ग्रेडवृद्धिका ६५ हजार ८९५ जना परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।” 

बोर्डका अनुसार यस वर्ष कोशी प्रदेशमा ८२ हजार ४८७,  मधेसमा ९० हजार २४३, बागमतीमा एक लाख नौ हजार ५१३, गण्डकीमा ४३ हजार ९७२, लुम्बिनीमा ९१ हजार ८०२,  कर्णालीमा ३९ हजार ७६९ र सुदूरपश्चिममा ५४ हजार ६३५ परीक्षार्थी सहभागी हुँदैछन् । 

बाल सुधार गृहका विद्यार्थीलाई यस्तो व्यवस्था

उहाँका अनुसार बालसुधार गृहमा रहेका विद्यार्थीको लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिनेगरी व्यवस्था मिलाइएको छ ।

बालगृह नजिकै रहेको परीक्षा केन्द्रको केन्द्राध्यक्षले प्रश्नपत्र र उत्तरपुस्तिकासहित निरीक्षक पठाएर बालगृहमा नै परीक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो।

उहाँकाअनुसार परीक्षा सकिएपछि सङ्कलित उत्तरपुस्तिका सोही परीक्षा केन्द्रको विद्यार्थी भएमा अरु परीक्षार्थीसँगै राखेर जाँच गरिनेछ भने फरक केन्द्रको भएमा छुट्टै प्याकिङ गरेर परीक्षा नियन्त्रण कार्यलय पठाउने व्यवस्था गरिएको छ । 

उहाँले भन्नुभयो, “बालसुधार गृहमा रहेका विद्यार्थीलाई नजिकैको परीक्षाकेन्द्रबाट व्यवस्थापन गर्नको लागि गृहकार्य गरेका छौँ । जहाँ बालसुधार केन्द्र छ, त्यहाँबाट सबैभन्दा नजिक रहेको परीक्षाकेन्द्रको केन्द्राध्यक्षज्यले उत्तरपुस्तिका र प्रश्नपत्रसहित एकजना जनशक्ति वा निरीक्षकलाई बालसुधार केन्द्रमा पठाउनुहुन्छ ।”

अपाङ्गता भएका विद्यार्थीलाई लेखन सहयोगी

उहाँले विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीलाई पनि उनीहरुको आवश्यकता अनुसारको व्यवस्थापन गरिएको बताउनुभयो ।

अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उहाँकाअनुसार तीन घण्टाको परीक्षामा उनीहरूलाई थप एक घण्टा ३० मिनेट समय दिइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने छ । भने लेखन सहयोगी विद्यार्थीलाई विद्यालयले प्रमाणित गर्नुपर्ने र उनीहरुलाई छुट्टै कक्षाको व्यवस्था गर्नेगरी तयारी गरिएको छ । 

उहाँले भन्नुभयो, “विशेष क्षमता भएका विद्यार्थीलाई अपाङ्गताको प्रकृति हेरेर प्रावधानअनुसार उहाँहरुले लेखन सहयोगी पनि पाउनुहुन्छ । तीन घण्टाको परीक्षा हो भने उहाँहरुले एक घण्टा ३० मिनेट बढी समय लेख्न पाउनुहुनेछ । विषयको पूर्णाङ्क र अपाङ्गताको प्रकृति हेरेर उहाँहरुलाई छुट्टै समय दिने प्रावधान छ । आफैँ लेख्न नसक्ने विद्यार्थीले लेखन सहयोगी पाउनेछन् । लेखन सहयोगी कक्षा ९ सम्म पढ्ने आफ्नो विद्यालयको विद्यार्थी राख्नुपर्नेछ । सो विद्यालयले फोटोसहित सहयोगी विद्यार्थी प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसपछि हामीले परीक्षार्थी विद्यार्थीले भन्ने र सहयोगी विद्यार्थीले सुनेर लेख्नेगरी छुट्टै कक्षामा व्यवस्थापन गर्ने प्रवन्ध गरेका छौँ ।” 

उहाँले विद्यार्थीलाई परीक्षा केन्द्रमा समयमै उपस्थित हुन, प्रवेशपत्र, आवश्यक लेखन सामग्री साथमा ल्याउन तथा मोबाइल लगायत निषेधित सामग्री नल्याउन आग्रह गर्नुभएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएकाले ढिलोमा साढे ७ बजेसम्म परीक्षा केन्द्रमा पुग्न र निर्धक्क भएर परीक्षा दिन आग्रह गर्नुभयो ।  एक महिनामै नतिजा प्रकाशनपरीक्षा नियन्त्रक कार्यलयले यसवर्षको एसइई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी गरेको छ । 

एक महिनामै नतिजा प्रकाशन गर्ने तयारी

उपनियन्त्रक ज्ञवालीले सरकारले छिटो नतिजा प्रकाशन गर्न निर्देशन दिएकोले सोहीअनुसार तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका जाँच गर्ने तयारी गरिएको छ ।  परीक्षा भएको विषयको सोही दिन परीक्षाकेन्द्रमा परीक्षक र संपरीक्षकले उत्तरपुस्तिका जाँच गरेर विद्यार्थीको लब्धांकपत्र शिक्षा विकास तथा समन्वय एकाईमा पठाउने व्यवस्था गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाईले तोकिएको समयमा लब्धांकपत्र परीक्षा नियन्त्रण कार्यालय पठाउनेछ । 

उहाँले भन्नुभयो, “विगतमा जस्तो परीक्षा सकिएपछि नजिता धेरै दुई, तीन महिना नै कुर्नुपर्दैन । अहिले सरकारले द्रुत गतिमा नतिजा प्रकाशन गर्ने भनेर हामीलाई निर्देशन प्राप्त भएको छ । हामीले कम्तीमा एक महिनाभित्रै नतिजा प्रकाशन गर्नेगरी तयारी गरेका छौँ । अहिलेसम्मको मोडेल हेर्दा जहाँ जहाँ परीक्षा केन्द्र छ, त्यहीबाट जुन दिन परीक्षा भयो, सोही दिनबाट परीक्षक र संपरीक्षकलाई बोलाएर उत्तरपुस्तिका परीक्षण गर्ने र मार्क स्लिप सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र शिक्षा विकास तथा समन्वय एकाइले मार्क स्लिप परीक्षा नियन्त्रण कार्यलय कक्षा १० मा तोकिएकोसमय भित्र पठाउनेगरि तयारी गरिएको छ । यसपाली कम्तीमा एक महिनाभित्रै नजिता प्राप्त गर्न सक्नुहुनेछ ।” परीक्षा नियन्त्रण कार्यलयले यस वर्ष अनुगमनमा पनि कडाइ गर्ने जनाएको छ ।