काठमाडौँ, चैत १८ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए. मनिकरले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको उक्त भेटमा दुई देशबिचको आपसी हित र कूटनीतिक सम्बन्धका विषयमा छलफल भएको छ ।
भेटका क्रममा उपराष्ट्रपति यादवले राजदूत मनिकरलाई नेपालमा नियुक्ति हुनुभएकामा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सन् १९७७ मार्चमा नेपाल र साउदी अरेबियाबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई मुलुकबिचको सम्बन्ध मित्रता, सद्भावना, आपसी समझदारी र सहयोगमा आधारित रही आएको छ ।”
उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको आवश्यकता औँल्याउनुभयो । उहाँले साउदी विदेशमन्त्री फैसल बिन फरहान अल साउदको नेपाल भ्रमण र नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको साउदी भ्रमणले सम्बन्धमा इँटा थपेको स्मरण गर्नुभयो ।
नेपाली श्रमिकका लागि साउदी अरेबिया प्रमुख गन्तव्य रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले कामदारको हकहित संरक्षणका लागि साउदी सरकारको सहयोगप्रति विश्वास व्यक्त गर्नुभयो । उहाँले २५ जनवरी २०२६ मा हस्ताक्षर भएको द्विपक्षीय श्रम सम्झौताले श्रम सहयोगलाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
नेपालले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने तथा सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य राखेको सन्दर्भमा साउदी लगानीको अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो । उपराष्ट्रपतिले भन्नुभयो, “पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि क्षेत्रमा साउदी अरेबियासहित मित्रराष्ट्रहरूको लगानी र सहयोगको अपेक्षा छ ।”
पर्यटनका सन्दर्भमा उपराष्ट्रपति यादवले नेपालको प्राकृतिक सौन्दर्य र संस्कृतिका कारण साउदी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने बताउनुभयो । साथै, नेपाली मुस्लिम समुदाय हज तथा उमराहका लागि साउदी जाने गरेको उल्लेख गर्दै साउदी सरकारको सहयोगप्रति धन्यवाद दिनुभयो । उहाँले पश्चिम एसियामा विकसित द्वन्द्वका घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र साउदीबिचको सहकार्य जारी रहने विश्वास दिलाउनुभयो ।
सो अवसरमा राजदूत मनिकरले नेपालको विकासका लागि साउदी अरेबिया विभिन्न क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा विशेष साझेदारीको सम्भावना रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा नेपाल–साउदी सम्बन्धलाई थप बलियो बनाउन प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।