• २६ पुस २०८१, शुक्रबार

प्रम प्रचण्डलाई जस्तै सभामुखमा घिमिरेलाई मत दिनुपर्छ: सांसद भट्टराई

blog

गाेरखापत्र अनलाइन

काठमाडाैँ, माघ ५ गते । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले नेपाली काँग्रेसकै कारण वि.सं. २०७४ सालमा राष्ट्रपति सर्वसम्मत हुन नसकेको बताउनुभएको छ ।बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले वि.सं. २०७२ सालमा संविधान बनेपछि सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुनुपर्ने भए पनि काँग्रेसप्रति लक्षित गर्दै काँग्रेसकै कारण सर्वसम्मत रुपमा राष्ट्रपति चयन हुन नसकेको बताउनुभयो ।

उहाँले काँग्रेसकाे इतिहासमा सबैभन्दा लाभ लिने दलको रुपमा रहेको दाबी गर्नुभयो । उहाँले काँग्रेसलगायत प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिए जस्तै सभामुखका उम्मेदवार देवराज घिमिरेलाई पनि मत दिएर निर्वाचित गर्न आग्रह गर्नुभयो ।

‘यहाँ दिने र लिनेको पनि कुरा भयो, आज धेरै तीतो इतिहास नसम्झिऔँ भन्ने लागेको थियो । फेरि पनि सम्झना गर्ने बाध्यता आयो । नेपाली काँग्रेस र नेकपा एमालेको सम्बन्ध त्यस्तै छ । विगत हेर्ने हो भने एमाले सबैभन्दा बढी दिने र नेपाली काँग्रेस सबैभन्दा बढी लिने दलमा चिनिन्छ । २०७२ को संविधान बनाउँदा के भनिएको थियो, बनेपछि आज के भयो त्यो पनि सम्झिनुपर्छ । उहाँले थपेर भन्नुभयो, अहिले राष्ट्रपति विद्यादेवी भण्डारी सर्वसम्मत चुनिनुभएको होइन । हाम्रो अपेक्षा सर्वसम्मत चुनिनुपर्छ भन्ने थियो । यसको हेक्का हुनुपर्छ, कसको कारणले भएन, त्यो बेला नै सर्वसम्मत हुनुपर्दथ्यो । प्रधानमन्त्रीलाई विश्वासको मत मुटुले दिएको हो भने देवराज घिमिरेले पनि त्यो मत प्राप्त गर्नुपर्छ । निधारले हो भने केही भन्न सकिँदैन ।’

सांसद भट्टराईले सभामुख उम्मेदवार घिमिरे सबै किसिमले सभामुख बन्नका लागि योग्य पात्र रहेको भन्दै उहाँलाई सभामुखमा निर्वाचित गर्न आग्रह गर्नुभयो ।