• १२ असोज २०८१, शनिबार

दुई कपडा पसलमा छापा

blog

रङ्गेली समाचारदाता

विराटनगर, माघ ५ गते । राजस्व अनुसन्धान एकाइ कार्यालय, इटहरीको टोलीले बुधबार विराटनगरका दुई कपडा पसलमा छापा मारेको छ । विराटनगर–९, मेनरोडमा रहेको नारायण स्टोर र अम्बिका वस्त्रालयमा सो टोलीले छापा मारेर कागजात नियन्त्रणमा लिइएको हो । 

अवैध कारोबार र कर छली गरेको सूचनाका आधारमा छापा मारेर कागजात नियन्त्रणमा लिइएको राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका सूचना अधिकारी एवं अधिकृत विनोद पोखरेलले जानकारी दिनुभयो । 

नन्दुकिशोर तापडिया र किसन तापडियाले सञ्चालन गरेको नारायण स्टोर भारतको जोगबनीमा समेत रहेको छ । खुला सीमाको फाइदा उठाउँदै भन्सार छलेर कपडा भित्र्याउने गरेको आरोप यी पसललाई लाग्दै आएको छ । 

यसैगरी अम्बिका वस्त्रालयको समेत कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । प्रदीप अग्रवाल सञ्चालक रहेको यो पसलबाट शङ्कास्पद कारोबार गर्दै आएको सूचनापछि छापा मारिएको हो । बुधबार राजस्वको टोलीले दुवै पसलमा एकै पटक छापा मारेको थियो तर स्टोर नदेखाएका कारण धेरै समयसम्म कुर्नुपरेको थियो ।