• १२ असोज २०८१, शनिबार

कृषि उद्यम प्रवद्र्धन गर्न ‘एक्सिलेटर’ कार्यक्रम

blog

रङ्गेली समाचारदाता

विराटनगर, माघ ५ गते । प्रदेश १ मा उच्च सम्भावना भएका कृषिमा आधारित उद्यमलाई प्रवद्र्धन गर्ने उद्देश्यले पाँचमहिने ‘एक्सिलेटर’ कार्यक्रम सञ्चालन गरिने भएको छ । 

लगानी आकर्षित गर्ने लक्ष्यसहित बढी सम्भावना भएको कृषि क्षेत्रमा काम गरिरहेका व्यवसायीलाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गरिने भएको हो । 

सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्विस कन्ट्याक्टअन्तर्गत सञ्चालित सहज–एनएएमडीपी (नेपाल कृषि बजार विकास कार्यक्रम)को साझेदारी तथा प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ सँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिने भएको हो । 

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सम्भावना र अवसर भएका क्षेत्रमा लगानी प्रवद्र्धन गरिने जानकारी दिइयो । यसका लागि प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ सँग अद्यान्त फन्ड म्यानेजमेन्टबीच समझदारीमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिइएको छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले यो कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता वृद्धि गर्ने, लगानी पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो । 

प्रदेश १ कृषि, पर्यटन, व्यापार र उद्योगमा अग्रणी भए पनि कृषिको औद्योगिकीकरणका लागि लगानी आकर्षित गरेर सम्भावनालाई अवसरमा बदल्ने प्रयास गरिने उपाध्यक्ष राउतले बताउनुभयो । 

कृषिमा आधारित उद्यमीलाई आफ्नो व्यवसाय विस्तार गर्न आवश्यक स्रोत–सामग्री र व्यावसायिक परामर्श प्रदान गरी लगानीयोग्य बनाउन कार्यक्रमले सहयोग गर्ने अद्यान्तका संस्थापक मनोज पौडेलले जानकारी दिनुभयो । आवेदकमध्येबाट १० उद्यमी छनोट गरी १२ हप्ताको पुँजी, बजार पहुँच र प्राविधिकलगायतका आन्तरिक चुनौती केन्द्रित परामर्श प्रदान गरिनेछ । 

यसैगरी सम्भावना देखिएका कृषि उद्यमीसँग विज्ञ र उद्योगीको सम्पर्क गराइनेछ, जसले कृषि उद्योग विस्तारमा लगानी गर्ने बाटो खोल्ने लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा. सरोज कोइरालाले बताउनुभयो । 

“यस्तो कार्यक्रम यसअघि राजधानी केन्द्रित मात्रै थियो । प्रदेश १ मा अद्यान्तले कार्यक्रम विस्तार गर्नु राम्रो कुरा हो । यसले केही न केही सुधार गर्ने अपेक्षा लिएका छौँ,” प्राधिकरणका निर्देशक कोइरालाले भन्नुभयो । 

कार्यक्रमका लागि कृषि उद्यमका क्षेत्रमा क्रियाशील व्यक्तिले माघ ४ देखि १८ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिइएको छ । अनलाइनमार्फत वा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश १ र तोकिएका अन्य स्थानबाट समेत आवेदन दिने सुविधा दिइएको छ ।