• १२ असोज २०८१, शनिबार

गोठगाउँमा पूर्णकालीन अस्पताल

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, माघ ५ गते । पूर्वाञ्चल विश्वविद्यालयको मुख्य कार्यालय रहेको मोरङको सुन्दरहरैँचा–८, गोठगाउँमा पूर्णकालीन अस्पताल सेवा बिस्तार गरिएको छ। 

२०५० सालमा विश्वविद्यालय स्थापना भएपछि स्थानीयले गोठगाउँमा अस्पताल र मेडिकल कलेज सञ्चालन हुनुपर्ने माग गर्दै आएका थिए तर विश्वविद्यालयको मुख्य कार्यालय विराटनगरबाट गोठगाउँमा सार्न नै २६ वर्ष लागेको थियो। मुख्य कार्यालय गोठगाउँमा आएपछि स्थानीय नागरिक र राजनीतिक दलका नेताले पूर्णकालीन अस्पताल सञ्चालन र शिक्षण अस्पताल सञ्चालन गर्न माग गरेका थिए। बहुप्रतिक्षित अस्पताल सेवा बिस्तार भएसँगै स्थानीयको गुमेको खुसी फर्किएको छ।

अस्पताल सेवा विस्तार कार्यक्रमको आरम्भ गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता एवं प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले सरकारले विश्वविद्यालयलाई दिने अनुदान बढाउन माग गर्नुभयो। डा. कोइरालाले भन्नुभयो, “विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा सरकारले दलीय भागबन्डा लगाउने अनि अनुदान माग्दा पूर्वाञ्चल विश्वविद्यालय सरकारी होइन, समुदायबाटै चलाउ भन्न पाइँदैन।” 

कोइरालाले चार करोड अनुदान दिएर विश्वविद्यालय नचल्ने बताउँदै यही अवस्थामा मेडिकल कलेज शिक्षण अस्पताल सञ्चालन गर्न चुनौती रहेको उल्लेख गर्नुभयो। कोइरालाले भन्नुभयो, “तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारतको बनारस हिन्दु विश्वविद्यालयको मोडलमा विकसित गर्न पूर्वाञ्चल विश्वविद्यालय स्थापना गरेको उल्लेख गर्र्दै समय समयमा हुने सरकार परिवर्तनले उहाँको सपना पूरा नभएको हो।”  

राष्ट्रिय सभाका नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजङ्ग रायमाझीले भन्नुभयो। “पूर्वाञ्चल विश्वविद्यालयमा शिक्षण अस्पताल र मेडिकल कलेज सञ्चालनमा राजनीतिक रङ नदिई काम गरौँ, प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ। हाम्रो अभियान सफल हुन्छ।” राष्ट्रिय सभाका अर्का सांसद गोपी अछामीले मोरङको गछिया आएर पनि प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज र अस्पताल सञ्चालन गर्ने विषयमा प्रतिबद्धता जनाउनुभएकोले यस क्षेत्रका नागरिकको सपना पूरा हुने बताउनुभयो। 

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा मोरङ ३ का प्रतिनिधि सभा सदस्य डाक्टर सुनील शर्मा, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागार्इं, अस्पताल निर्देशक डा. विपेश आचार्यलगायतले बोल्नुभएको थियो।