• ३ असार २०८१, सोमबार

साफ यू–२० महिला च्याम्पियनसिप : नेपालको लक्ष्य उपाधि

blog

साफ यू–२० महिला च्याम्पियनसिपका लागि तयारी गर्दै नेपाली टोली । तस्बिर : एन्फा

काठमाडौं, माघ ४ गते । बङ्गलादेशको ढाकामा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपका लागि केन्द्रित रहेर नेपाली महिला टिम यतिबेला बन्द प्रशिक्षणमा व्यस्त छ । फेब्रुअरी ३ देखि ९ तारिखसम्म चल्ने प्रतियोगितामा चार राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

उपविजेता भन्दामाथि उक्लिन नसकेको नेपालले प्रतियोगितामा उपाधिको लक्ष्य लिएको छ । दक्षिण एसियाली राष्ट्रहरुको प्रतिष्ठित प्रतियोगिता साफ फुटबल अन्तर्गतगको महिला यू–२० को चौथो संस्करण बङ्गलादेशको ढाकामा आयोजना हुँदैछ ।

प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भारत, भुटान र नेपालले सहभागिता जनाउँदैछन् । सोही प्रतियोगिताका लागि नेपाली टोलीले तयारीलाई तीव्र बनाएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयमा नेपाली टोली दैनिक अभ्यासमा व्यस्त छ । 

नेपालले च्याम्पियन बन्ने लक्ष्यका साथ तयारी गरेको मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले बताउनुभयो । तीन साता अघिबाट अभ्यासमा जुटेको नेपाली टोलीले कठिन अभ्यससँगै केही मैत्रीपूर्ण खेल पनि खेलेको छ । सुरुवाती १५ दिनमा प्राविधिक गृहकार्य गरेपछि उल्लेख्य सुधार आएको प्रशिक्षक गुरुङले बताउनुभयो । 

नेपाली राष्ट्रिय टोलीकी सदस्य प्रीति राईले पनि प्रतियोगिताको तयारी विगतको भन्दा भिन्न र राम्रो भएको बताउनुभयो । ‘‘प्राविधिक र मानसिक हिसाबले हाम्रो तयारी राम्रो भएको छ । ढाकामा राम्रो नतिजा निकाल्ने सबैको साेच छ,’’ राईले भन्नुभयो । 

च्याम्पियनसिपमा नेपालले पहिलो खेल आयोजक बङ्गलादेशसँग फेब्रुअरी ३ मा खेल्नेछ । सोही दिन भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ । नेपालले फेब्रुअरी ५ मा भुटान र फेब्रुअरी ७ मा भारतसँग खेल्नेछ । राउन्ड रोविन लिगका लाधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ ।