• ११ असार २०८१, मङ्गलबार

दुर्घटनाग्रस्त जहाजभित्र खिचिएकाे भिडियो मिथ्या

blog

विष्णु पाण्डेय

काठमाडौैं, माघ २ गते । यती विमान दुर्घटनामा परेपछि आइतबार साँझपखबाट सामाजिक सञ्जालमा भाइरल भएकाे एउटा भिडियाे नक्कली भएकाे बताइएकाे छ । 

भारतीय नागरिक सोनु जैसवालले लाइभ गरेको भनेर भारतीय मिडियाका साथै नेपालका अनलाइनले पनि त्यसलाई सेयर गरेका थिए । 

दुर्घटनाको डेढ मिनेट अघि भिडियो लाइभ भएको र लाइभ हुँदाहुँदै दुर्घटना भएको देखिने उक्त भिडियोमा कुनै सत्यता नरहेको  एयरलाइन्सले जनाएको छ । 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुुसार सामाजिक सञ्जालमा भाइरल भइरहेको त्यो भिडियो अहिलेको होइन । विमान आकाशमै हुँदा लाइभ भिडियो गर्न नेटवर्कले साथ दिँदैन । “सामाजिक सञ्जालमा निकै भाइरल भएको भिडियो आइतबार दुर्घटना भएको विमानको होइन । उनी तीन वर्षअघि पनि नेपाल आएर पोखरा घुम्न गएका थिए । सायद त्यही बेला बनाएको हुनुपर्छ । पछि सम्पादन गरेर लाइभ भिडियो भनेर भाइरल भएको हुनुपर्छ  ।” उहाँले भन्नुभयो, “जहाज आकाशमै रहँदा नेटवर्कले काम गर्ने सम्भावना ज्यादै न्यून हुन्छ । विमान भित्रबाट लाइभ भिडियो गर्न मिल्दैन ।”

भित्र फोटो र भिडियो खिच्नु स्वभाविक भए पनि भित्रैबाट लाइभ गर्न नमिल्ने उहाँले बताउनुभयो। यो पहिलेको भिडियोलाई सम्पादन गरेर अहिले आइरल बनाइएको हुनसक्ने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “विमान भित्रबाट बाहिरी दृश्यहरुको फोटो र भिडियो खिच्नु स्वभाविक भए पनि लाइभ भिडियो नै गर्न भने मिल्दैन । यो पहिले खिचेको भिडियोलाई पछि सम्पादन गरेर दुर्घटनाका दृश्यहरू  राखेर सेयर गरिएको हुनसक्छ ।” 

मिथ्या भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।


अहिले जैसवालको मोबाइललाई फरेन्सिक ल्यावमा पठाइएको र त्यसको रिपोर्ट आएपछि नैै वास्तविकता बाहिर आउने उहाँ बताउनुहुन्छ । 

यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला पनि उक्त भिडियो मिथ्या रहेको स्वीकार्नुहुन्छ । 

उहाँले भन्नुभयो, “भुँइबाट त लाइभ गर्दा नेटवर्कले राम्रोसँग काम गरेको हुँदैन । विमान आकासमै उडिरहेको समयमा आकाशबाट लाइभ गर्नु सत्य होइन । ”

भिडियोकाे प्रकृति हेर्दा भिडियोमा भएको व्यक्ति यती एयरको विमानमै सवार भएजस्तो नदेखिने उहाँको तर्क छ । निरौलाले भन्नुभयो,“सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा देखिएको व्यक्तिकै पछाडिको सिट पनि रातो–रातो देखिन्छ तर यतीको सिटमा त्यस्तै छैन, हरियो रंग छ । यसबाट पनि पुष्टि हुन्छ ।”

६८ यात्रु र चार चालक दल गरी ७२ सवार काठमाडौैंबाट पोखराका लागि उडेको विमान आइतबार बिहान पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेकाे थियाे। 

ल्याण्डिङको अनुमति पाइसकेको विमान धावनमार्गबाट एक हजार ७०० मिटर मात्र टाढा थियो । १० सेकेन्डमै अवतरण हुनुपर्ने विमान अनियन्त्रित हुँदै सेती खोँचमा बजारिन पुग्यो र दुर्घटनाग्रस्त भयो । 

दुर्घटनामा अहिलेसम्म ६८ जनाको शव भेटिएको छ भने बाँकी चार जनाको खोजी कार्य भइरहेको छ  ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।