• १२ साउन २०८१, शनिबार

आशीर्वाद लिनेदिने पर्व

blog

थारू समुदायको सबैभन्दा ठूलो पर्व हो– ‘माघ’ । यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् । बीच (कपिलवस्तु–चितवन)का थारूले खिचरा पर्व भन्छन् । दाङ पश्चिमका थारूले माघ भन्छन् । 

पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्मका तराईको जिल्लामा थारूको बसोबास छ । त्यही भएर ठाउँअनुसार पर्वलाई आफ्नै शैलीमा मनाइन्छ । माघे सङ्क्रान्तिको नामले सबै नेपाली समुदायले पर्वलाई माघ १ गते मनाउँछन् । बाह्र महिनामध्ये एउटा महिना माघ हो । माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ या माघी रहन गयो । पूर्वदेखि पश्चिमसम्मका थारू समुदाय काठमाडौँ उपत्यकामा यो पर्व २०५९ देखि मनाउन थालेपछि माघी सम्बोधन गर्न थाले । 

विशेषगरी थारू समुदायको छाता सङ्गठन थारू कल्याणकारिणी सभा (थाकस)ले २०५९ देखि काठमाडौँमा माघी महोत्सव मनाउन थालियो । पूर्वका थारू र काठमाडौँ उपत्यकामा कामविशेषले बसोबास गर्ने थारूले साझा पर्वका रूपमा माघलाई ‘माघी’ भन्न थाले । उच्चारण जे गरिए पनि पर्व ‘माघ’ नै हो । पश्चिमा थारूले यसलाई विशेष पर्व (नयाँ वर्ष)का रूपमा मनाउँछन् । 

स्वतन्त्र विश्वकोष, नेपाली विकिपिडियाले ‘माघी’ उल्लेख गरेको छ । लेखिएको छ, “माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ ।” माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारू गाउँमा सुँगुर काट्ने प्रचलन छ । जसलाई थारूमा ‘जिता मर्ना’ भनिन्छ । 

सुँगुरको मासुसँग थारू परिकार ढिक्री, माछा, घोङ्घी, सिपी, गँगटा, अनदीको भात, मुरही, जाँड रक्सी परिकार खाने प्रचलन छ । पुसको अन्तिम दिन रातभरि जाग्राम बसिन्छ । त्यस रात थारूहरू दफुको साथमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारू इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत सिर्जाइएको हुन्छ । रातभरि जाग्राम बसी गीत गाउने गायकको सत्कारका लागि जाँड रक्सी र खानपानको व्यवस्था गरिएको हुन्छ । विशेष सम्मान र आतिथ्यता प्रदान गर्ने चलन छ ।

माघ लहान

माघ १ गतेलाई पवित्र दिन मानिन्छ । सुँगुर, बँगुर, हाँस, कुखुराको मासु खाने दिन पुस अन्तिम दिनमा हो । भोलिपल्ट अर्थात् माघ १ गते परम्परागत बाजागाजासहित सामूहिक रूपमा जलासयमा गई स्नान गर्ने गरिन्छ । जसलाई थारूहरूले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारू भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट माघ लहान भएको हो । यस दिन जलदेवतासँग पानी खरिद गरेर स्नान गरिन्छ । स्नान गर्दा पानीभित्र सिक्का छाड्छन् । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभरिको पापकर्म पखालिन्छ, नष्ट हुन्छ भन्ने विश्वास छ । नुहाउन जाँदा बाटोभरि धमार गीत गाउने, मघौटा नाच नाच्ने चलन छ । जसको नेतृत्व बरघर या 

घरमूलीले गर्छन् । गाउँभरिका सदस्य सामूहिक रूपमा जलासयमा रमाइलो गर्दै स्नान गर्छन् । यो परम्पराले सामूहिकताको विकास गरेको छ । सहयोगको भावना वृद्धि गरेको छ । 

आशीर्वाद लिने प्रचलन

घरका ज्येष्ठ सदस्य तथा आफन्तबाट लामो समयपछि भेट हुँदा सम्मानस्वरूप शिर निहु¥याएर ढोग गर्ने र आशीर्वाद लिने प्रचलन छ । थारू समुदायमा अभिभावकको खुट्टा छोएरै आशीर्वाद लिने प्रचलन छ । गाउँघरका सदस्यले कामविशेषले देश बाहिर, गाउँ बाहिर रहँदा वर्ष दिनपछि घरमा जम्मा हुने र माघ १ गते चोखो पानीमा स्नान गरी पूर्खालाई ढोग गरी आशीर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठूलालाई सम्मान दिन्छ र दीर्घायू तथा सुखी जीवनको मनग्ये आशीर्वाद प्राप्त हुन्छ । ढोग आशीर्वादले एकअर्कालाई जोडेको छ । ठूलाको सम्मान र सानाको माया यसमा अन्तरनिहित छ । यसले व्यक्ति–व्यक्तिलाई मात्र जोड्ने होइन, समाज र देशलाई जोड्छ । मनमा शान्ति भएपछि समाजमा शान्ति कायम हुन्छ । समाजमा शान्ति भएमा देशमा शान्ति आउँछ । 

थारूहरूले माघ १ गते स्नान गरेपछि ठूलाको आशीर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार)मा गुन्द्रीमा अलग–अलग ती सामान राखिएका हुन्छन् । स्नान गरेर घरमा आएपछि पहिले चामल, नुन र दाललाई छोएर पाँच–पाँच अञ्जुली अलग भाँडामा राख्छन् । त्यसपछि मात्र आफूभन्दा ठूलाको आशीर्वाद थाप्छन् । नजिकमा मठ मन्दिर वा देवालय भएका गाउँका सदस्यले चोखो मनले भगवान्को पूजा गर्छन् । पूर्खाको आशीर्वादले वर्षभरि सुख, शान्ति, प्रगतिको आशीर्वाद प्रदान गर्छन् । घरका सदस्यले गाउँका सबै अभिभावककहाँ गएर आशीर्वाद लिने प्रचलन छ । यो प्रचलनले एकअर्कासँग सम्बन्ध प्रगाढ बनाउने भूमिका निर्वाह गर्छ । ढोग आशीर्वादपछि मात्र सामूहिक खानपिन गरिन्छ । सुखदुःखका कुरा साटासाट गरिन्छ । 

चेलीबेटीलाई निसराउ

माघ १ गते थारूले विवाहित चेलीबेटीलाई विशेष उपहार दिन्छन् । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । नुहाएर घर आएपछि घरमा सगुनको रूपमा छोएको चामल, नुन र दाल नै निसराउ हो । त्यसमा थपेर चेलीबेटीलाई उपहारका रूपमा प्रदान गरिन्छ । आजभोलि थारूमा नगदसहित निसराउ दिने प्रचलन बढ्दै गएको छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्य माइत ल्याइन्छ । माइत आएका चेली फर्कने बेलामा निसराउ लिएर फर्किन्छन् । कुनै कारणबस माइत आउन नपाएका चेलीलाई घरका सदस्यले निसराउ दिन चेलीबेटीको घरमा जान्छन् । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । नाता कुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले निसराउ (उपहार) दिने चलनलाई महìवका साथ हेरिन्छ ।

सम्बन्ध जोड्ने पर्व

माघी पर्वले एकअर्काबीच भएको तिक्तता हटाउँछ । कसैसँग रिसइबी भएको छ भने माघ १ गते जलासयमा स्नान गरी एकापसमा अङ्कमाल गर्नाले वर्षभरिको रिसइबी हट्ने र नयाँ सम्बन्ध कायम हुने विश्वास गरिन्छ । चोखो पानीमा स्नान गर्नाले शरीरको रोग, विमार हट्ने र वर्षभरिको पाप पखालिने विश्वास गरिन्छ । त्यसैले माघ पर्वलाई मेलमिलापको पर्व मानिन्छ । एकअर्कालाई ढोग आशीर्वाद लिने प्रचलनलाई थारूहरूले ‘सेवा सलाम लग्ना’ भन्छन् । यसो गर्दा गाउँका सदस्यबीच एकता, मित्रता र आपसी सहयोगको भावनामा वृद्धि हुन्छ ।

नयाँ वर्ष

थारू संवत्अनुसार यो माघ २६४६औँ हो । माघ पर्वलाई थारूले नयाँ वर्षका रूपमा मनाउँछन् । कारण– पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाब गर्छन् । माघ १ गतेदेखि नयाँ खाता सुरु गर्छन् । वर्ष दिन गरेको कामको लेखाजोखा, हिसाब मिलान तथा गाउँको काम गर्नका लागि नियुक्त गरिएकाहरूको पारिश्रमिक भुक्तान गर्छन् । माघ १ गतेदेखि नयाँ नियुक्ति गर्छन् । गाउँ सञ्चालन गर्न बरघर, गुरुवा, चिरक्या, घरमूली, अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्ति हुन्छ । जवान भएका छोराछोरीको विवाहको काम पनि माघ महिनाबाटै सुरु हुन्छ । वर्षदिनका लागि नयाँ योजना बनाउने र त्यसको कार्यान्वयनका लागि जिम्मेवारी सुम्पने काम हुने भएकाले थारूले यस पर्वलाई नयाँ वर्षका रूपमा मनाउँछन् । 

थारूले माघी पर्वका लागि महिना दिनसम्म तयारी गर्छन् । खाने चामलदेखि, पैसाको जोहो, ढिक्रीलगायतका परिकार बनाउने सामग्री, तेल, नुन, खुर्सानी सबै चिजको जोहो गर्छन् । मासुका लागि सुँगुर बँगुर खोज्नेदेखि खोलामा गएर माछा मार्ने, घोङ्घी, गँगटा, सीपी खोज्नेसम्मको तयारी गर्न महिना दिनको समय चाहिन्छ । जिल्लामा माघी महोत्सव, खिचरा महोत्सव, तिला सङ्क्राइत महोत्सव गर्ने प्रचलन छ । यसले थारू समुदायको कला संस्कृतिको जगेर्ना गर्छ । अर्कोतर्फ आफ्नै घरमा उत्पादित परिकार बिक्री गरेर आम्दानी पनि गर्छन् । माघ पर्वका बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रचार प्रसारले पर्यटन क्षेत्रको प्रवद्र्धनमा पनि सहयोग पुगेको छ । यो पर्वमा विशेषगरी मघौटा नाच, छोक्रा, हुरदङ्ग्वा नाचिन्छ । थारूले पुसको अन्तिम दिन जिता मार्ने, माघ १ गते लहान गर्ने, २ गते खिचडी भात खाने र साताभरि रामरमाइलो गर्छन् । माघी महिनामा थारू गाउँमा मेला महोत्सव लगाउने प्रचलन बढ्दै गएको छ । त्यसले स्थानीय उत्पादनको व्यापार पनि बढेको छ । 

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।