• ११ वैशाख २०८३, शुक्रबार

लोकतन्त्रको सुन्दर पक्ष

blog

आज लोकतन्त्र दिवस । नेपालमा लोकतन्त्र आएको १९ वर्ष पूरा भएको छ । दोस्रो जनआन्दोलन २०६२/६३ सफल भएर राजाको प्रत्यक्ष शासन अन्त्य भई लोकतन्त्र पुनस्र्थापना भएको सम्झनामा हरेक वर्ष वैशाख ११ गते विभिन्न कार्यक्रम गरेर यो दिवस देशभर मनाइन्छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिएपछि तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) ले १२ बुँदे सम्झौता गरेसँगै लोकतन्त्रको आन्दोलन चर्किएको थियो । त्यसैको बलमा तत्कालीन राजा संसद् पुनस्र्थापना गर्न बाध्य भएका थिए ।

सोही आन्दोलनको जगमा संविधान सभाको चुनाव हुँदै मुलुकमा गणतन्त्र स्थापना भएको हो । लोकतन्त्रसँगै शासकीय संरचनामा फेरबदल आई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । यद्यपि लोकतन्त्र स्थापनापछि पनि राजनीतिक दल तथा तिनका नेताको कार्यशैलीका कारण आमजनतामा आक्रोश बढ्दा विभिन्न जातजाति, धर्म, समुदाय र पेसाकर्मीले विभिन्न आन्दोलन र विद्रोह गर्दा धेरै जनधनको क्षति बेहोर्नु प¥यो । लोकतन्त्रपछि पनि अपेक्षाकृत विकास तथा सुशासन कायम हुन नसकेको भन्दै दल र नेताहरूको आलोचना उत्तिकै बढिरहेको छ । अझै पनि शान्ति प्रक्रियाको कामले पूर्णता पाउन सकेको छैन । गत फागुन २१ को निर्वाचनपछि बनेको वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले सुशासन कायम गर्ने मूल मन्त्रका साथ काम अगाडि बढाइरहेको छ । यसप्रति जनता आशावादी बनेका छन् । 

लोकतन्त्र भनेको प्रजातन्त्रको उन्नत रूपसमेत हो । लोकतन्त्रमा जनता नै सर्वोपरि हुन्छन् । मानव अधिकारको प्रत्याभूति, प्रेस स्वतन्त्रता, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक सर्वोच्चता, विधिको शासन, कानुनी राज्य, अधिकार बाँडफाँट आदि लोकतन्त्रका सुन्दर पक्ष हुन् । लोकतन्त्र यस्तो प्रणाली हो; जहाँ नागरिकले निर्वाचनको माध्यमबाट आफ्ना प्रतिनिधि छानेर सरकार सञ्चालन गर्छन् र विचार तथा अभिव्यक्ति स्वतन्त्रता उपयोग गर्छन् । लोकतन्त्रमा बहुमतको कदर र अल्पमतको अधिकार संरक्षण हुने भएकाले यो सम्पूर्ण मानवको स्वतन्त्रता र अधिकारको संरक्षण गर्ने उत्कृष्ट शासनप्रणाली हो । 

हामीले सधैँ स्मरण गर्नु पर्छ; प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासनप्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नु पर्छ । हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्यशक्तिको सम्पूर्ण स्रोत मान्दछ । तसर्थ सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नु पर्छ । लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्न सक्छ ।

लोकतन्त्र सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो, साध्य होइन । राजनीतिक प्रणालीले तयार गरेको जगमा उभिएर राष्ट्रिय जीवनका हरेक पक्षले उच्च लोकतान्त्रिक आचरण, पारस्परिक विश्वास र सहयोगी भावना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ । जनताको जागरुकताले मात्र लोकतन्त्र निरन्तर विकसित हुँदै जान्छ र अन्ततोगत्वा लोकतन्त्र हाम्रो जीवनपद्धति बन्न सक्छ । लोकतन्त्र दिवसले समृद्ध नेपाल र सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवं मान्यता कार्यान्वयन गर्न अभिप्रेरित गर्नु पर्छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनमा योगदान गर्ने सबै व्यक्ति, संस्था र योद्धाप्रति सम्मान गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सक्नु पर्छ । लोकतन्त्र दिवस केवल वर्षमा एक दिन औपचारिक कार्यक्रम गर्नु मात्र होइन; लोकतन्त्रका उद्देश्य, सहिदका सपना र योजनालाई सफल रूपमा कार्यान्वयन गर्नु नै साँचो अर्थमा देशमा लोकतान्त्रिक व्यवस्था भएको ठानिन्छ  । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशकभन्दा लामो सङ्घर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । सुशासनमार्फत मुलुकको विकास र समृद्धि नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट हो । संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन तीन वटै सरकार प्रतिबद्ध भई संविधानप्रदत्त कार्य समयमै सम्पादन गर्नु पर्छ । जनतालाई बिनाझन्झट, सहज रूपमा सेवा प्रदान गर्नु र सामाजिक विभेद निर्मूल पार्नु पनि लोकतान्त्रिक शासनव्यवस्थाको मूल मर्म हो । 

हामीले प्राप्त गर्न चाहेको राष्ट्रिय लक्ष्य हासिल गर्न केही सङ्कल्प पनि गर्नु पर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आदर्शप्रति मन, वचन र कर्मले निष्ठा रहने सङ्कल्प सबै राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नेतृत्व, नागरिक समाज, प्रेस र पेसाकर्मीले इमानदारीपूर्वक निर्वाह गर्नु पर्छ । हामीले गर्ने हरेक कार्य नागरिकलाई केन्द्रमा राखेर गर्नु पर्छ । सुशासनप्रति प्रतिबद्ध हुनु पर्छ । समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्ध हुनु पर्छ । जस्तोसुकै परिस्थितिमा पनि देशको स्वाधीनता र सार्वभौमिकतालाई झुक्न नदिने गरी काम गर्नु पर्छ । अनि मात्र लोकतन्त्र सही अर्थमा कार्यान्वयन भएको ठहर्छ र सम्पूर्ण सहिदको सपना पनि साकार हुन्छ । 

लोकतन्त्रकै लागि राणा शासनविरुद्ध नेपाली जनताले २००७ सालमा ऐतिहासिक तथा वीरतापूर्ण सङ्घर्ष गरे । निरङ्कुश राणा शासनविरुद्ध जनताले देखाएको साहस, त्याग र बलिदानकै बलमा देशमा प्रजातन्त्र स्थापना सम्भव भएको हो । तसर्थ लोकतान्त्रिक अधिकार प्राप्तिका लागि भएका आन्दोलन राष्ट्रको गौरवपूर्ण अध्याय भएको पनि हामीले भुल्नु हुँदैन । आजका दिन र आगामी दिनमा पनि राष्ट्रिय सार्वभौमसत्ता सुदृढीकरण, सुशासन प्रवर्धन, समृद्ध नेपाल निर्माण तथा न्यायपूर्ण समाज स्थापनाका लागि सम्पूर्ण नेपालीबिच दृढ राष्ट्रिय एकताको आवश्यकता अझ बढी छ । यही एकतामार्फत लोकतान्त्रिक उपलब्धि अझ मजबुत बनाउँदै देशलाई समृद्धि र स्थायित्वतर्फ अघि बढाउन सकिन्छ । लोकतान्त्रिक मूल्यमान्यता, समावेशी र सामाजिक न्यायलाई व्यवहारमा उतार्दै राष्ट्र निर्माणको अभियानमा सबै राजनीतिक शक्ति र नागरिक एकताबद्ध भएको खण्डको हामीले प्राप्त गरेका उपलब्धि संस्थागत हुँदै जान्छन् । यी उपलब्धि कसैले पनि खोस्न सक्दैन र निरङ्कुशता पुनः फर्किन पाउने छैन । लोकतन्त्र दिवसका अवसरमा सम्पूर्ण श्रमिक, महिला, आदिवासी, जनजाति, धर्म, समुदाय, लिङ्ग, पेसाकर्मी, सरकार र आमनागरिकप्रति हार्दिक शुभकामना !