• ८ असार २०८१, शनिबार

सात महिने टुहुरोलाई आर्थिक सहयोग

blog

शेरबहादुर राई 

ओखलढुङ्गा, पुस ३० गते । आमाको मृत्यु भएपछि टुहुरो बनेका दूधे बालकलाई आर्थिक सहयोग प्राप्त भएको छ । सिद्धिचरण नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरूले उक्त दूधे बालकलाई नगद सहयोग गरेका हुन् । 

आमाको मृत्यु भएपछि टुहुरो बनेका सात महिने बालकको जीवन रक्षाका लागि वडा अध्यक्षहरूले व्यक्तिगत तथा उहाँहरूको पहलमा सङ्कलन भएको १८ हजार ७१० रुपैयाँ नगद बालकलाई हस्तान्तरण गरिएको छ ।

बालकको भरण पोषणका लागि नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र कर्मचारीहरूबाट सङ्कलन भएको सहयोग रकम बालकका मावली आफन्तलाई हस्तान्तरण गरिएको वडा नं. ९ का वडा अध्यक्ष गुणबहादुर खड्काले बताउनुभयो । 

सिद्धिचरण नगरपालिका–१ तलुवाकी कल्पना माझीको १९ वर्षको उमेरमा गत पुस २० गते निधन भएको थियो । माइत बस्दै आउनुभएकी कल्पनाको निधनपछि उहाँको सात महिनाको छोरा मावली हजुरबुवा आमाको सहारामा छन् ।

मावलीको आर्थिक अवस्था पनि अत्यन्तै कमजोर भएका कारण दूधे बालकको जीवन रक्षाका लागि नगरपालिकाले केही दिनअघि २० हजारको दुहुनो गाई खरिद गरेर दिएको छ । सो नगरपालिकाको १ नं. वडा कार्यालयबाट १५ हजार र वडा अध्यक्ष तीर्थ घिमिरेको व्यक्तिगत पाँच हजार सहयोग गरी २० हजारमा दुहुनो गाई खरिद गरी बालकलाई हस्तान्तरण गरिएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताउनुभयो । 

त्यसैगरी, सिद्धिचरण नगरपालिका बाट दश हजार नगदसहित बालकलाई पोषिलो खानेकुरा प्रदान गरिएको मेयर खनालको भनाइ छ । 

कल्पनाको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गर्भ अवस्था र सुत्केरी समयमा पोषणयुक्त पोषिलो खानेकुरा साथै पर्याप्त स्याहार नपुगेका कारण कल्पनाको ज्यान गएको हुनसक्ने बताइएको छ ।