• २४ फागुन २०८२, आइतबार

कञ्चनपुर–१ बाट दोब्बर मतान्तरले रास्वपाका धामी विजयी

blog

कञ्चनपुर १ बाट विजयी रास्वपा उम्मेदवार जनक सिंह धामी । तस्बिर : भवानीदत्त भट्ट

भवानीदत्त भट्ट
कञ्चनपुर, फागुन २४ गते ।
कञ्चनपुर निर्वाचन क्षेत्र–१ बाट दोब्बरभन्दा बढी मतान्तरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता जनक सिंह धामी विजयी हुनुभएको छ । शनिबार सार्वजनिक अन्तिम मत मरिणाम अनुसार, २४ हजार ३३२ मत सहित रास्वपाका नेता धामी विजयी हुनुभएको हो ।

रास्वपा नेता धामीले २४ हजार ३३२ मत प्राप्त गर्दा उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार बीना मगरले ११ हजार ११० मत प्राप्त गर्नुभयो । यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार गोपीप्रसाद उपाध्यायले ८ हजार ४६७ मत पाउनुभयो भने नेकपा एमालेका नेता तारालामा तामाङले ८ हजार ८८ मत प्राप्त गर्नुभयो ।

क्षेत्र–१ बाट विजयी प्रतिनिधि सभा सदस्य धामीलाई शनिबार राति नै निर्वाचन अधिकृत दामोदर घिमिरेले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

नेपाली कांग्रेशबाट जिम्मेवारी नपाउदा समाजसेवा गर्ने इच्छा रास्वपाबाट पूरा गर्ने चाहना बोकेर धामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएको थियो । कञ्चनपुर क्षेत्र–१ मा पहिलो पटक भारी मतान्तरका साथ रास्वपा उम्मेदवार धामी विजयी हुनुभएको हो । विद्यमान सीमा समस्या समाधान, अधुरो हुलाकी सडक निर्माण, डुबान समस्या समाधान, शैक्षिक क्षेत्रमा सुधार, सुकुम्वासी समस्या समाधान, आरक्षपीडित समस्या समाधान, युवाहरुलाई रोजगारसँग जोड्नेलगायतका कामहरु विजयी भए लगत्तै सुरुवात गरिने नेता धामीले प्रतिवद्धता जनाउनुभएको छ ।

यसैगरी, बेलडाँडीको चौधर नदी लगायत तटबन्ध आवश्यक स्थानमा दिगो व्यवस्थापन गर्ने, प्याराताल, बन्दा ताल, शोभाताल, सिक्रिकुन्डा, कालिकिच लगायत ताल–तलैयाको संरक्षण गरी पर्यटकीय स्थलमा रूपान्तरण, स्थानीय रोजगार र आय वृद्धि गरिने, स्वच्छ खानेपानी, फोहर मैला व्यवस्थापन, सार्वजनिक सम्पत्ति सदुपयोग, सीमासम्बन्धी समस्या समाधान, महाकाली सिँचाइ आयोजनाबाट प्रभावित खेती योग्य जमिनको समस्या समाधान गरिने उहाँले बताउनुभयो ।