नवलपरासी समाचारदाता
कावासोती, फागुन २४ गते । लोकसंस्कृतिको जगेर्ना हुन नसक्दा मौलिक परम्पराका रूपमा मगर समुदायको सबैभन्दा महत्वपूर्ण मानिने मारुनी नाच विस्तारै लोप हुन थालेपछि जिल्लाका बुढापाका मगर यसको जगेर्ना गर्न अहिले कम्मर कसेर लागेका छन् ।
मगर जातिको पुस्तौँदेखिको महत्व राख्ने मारुनी नाच अहिले मगर समुदायमै हराउन थालेपछि यसको संरक्षणमा बुढापाका मगर लागिपरेका बुलिङटार–२ का भूपाल थापामगरले बताउनुभयो । उहाँका अनुसार मारुनी नाच मगर समुदायमा कौरा नाचभन्दा पनि रमाइलो र महत्व झल्कने नाचका रूपमा लिइने गरिन्छ ।
मारुनी नाचले मगर जातिको वेशभूषा, संस्कृति मात्र झल्कन्न, यसले मगर समुदायको लोकसंस्कृति र परम्परालाई जीवित राख्नेसमेत गर्दछ मगर अगुवा कमानसिंह थापामगरले बताउनुभयो । मगर जातिको संस्कृति, वेशभूषा र परम्पराको जगेर्ना गर्दै समाजमा यसको महत्व झल्कने गरी अहिले लोप हुन लागेको मारुनी नाच संरक्षणका लागि अघि बढेको मगर समुदायका अगुवा दुर्गाबहादुर रानामगरको भनाइ छ ।