• २४ फागुन २०८२, आइतबार

नारायणकाजी श्रेष्ठलाई हराउँदै सर्लाही–३ मा रास्वपाको विजय

blog

नरेन्द्र साह कलवार र नारायणकाजी श्रेष्ठ । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, फागुन २४ गते ।
सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवार सानदार मतसहित निर्वाचित हुनुभएको छ । साह ४६ हजार ८९० मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । साहले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्व गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ३३ हजार ५५२ मतले पराजित गर्नुभयो ।

रास्वपाका साह तेस्रो प्रयासमा संसदको यात्रा तय गर्न सफल हुनुभएको हो । उहाँ २०७९ को निर्वाचनमा नेकपा एमालेका हरिप्रसाद उप्रेतीसँग ७७० मतको झिनो अन्तरले पराजित हुनुभएको थियो ।

निवर्तमान प्रतिनिधि सभा सदस्य उप्रेतीले यो पटक चौंथो बन्दै पाँच हजार ७७६ मात्र प्राप्त गर्नुभयो । अहिले प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपाका कलवार २०७९ मा भने नेकपा माओवादी केन्द्रबाट प्रतिस्पर्धामा उत्रनुभएको थियो ।

उहाँ यो पटक मनोनयन दर्ताको केही दिनअघि मात्र रास्वपामा प्रवेश गर्नुभएको थियो । साहले २०७४ सालमा पनि सर्लाही ३ मा स्वतन्त्रबाट गुलाब चुनाव चिन्ह लिएर प्रतिस्पर्धामा उत्रँदा १२ हजार बढी मत प्राप्त गर्नुभएको थियो ।

विभिन्न व्यवसाय गर्ने नवनिर्वाचित प्रतिनिधि सभा सदस्य साह सर्लाही ३ मा लामो समयदेखि सामाजिक कार्यमा सरिक हुँदै आउनुभएको थियो । सर्लाही ३ मा कांग्रेसका पुराना नेतासमेत रहनुभएका विनोदकुमार खनालले पाँच हजार ७७६ र उज्यालो नेपाल पार्टीका त्रिभुवनकुमार सिंहले दुई हजार ६२२ मत प्राप्त गर्दा अन्य उम्मेदवारले एक हजार मतसमेत पुर्‍याउन सकेनन् । 

आइतबार बिहान प्रत्येकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य साहलाई प्रमाण–पत्र वितरणको तयारी भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्लाहीमा यसअघि क्षेत्र नंं. १, २ र ३ मा रास्वपाकै उम्मेदवार विजयी भइसकेका छन् ।