• १५ चैत २०८२, आइतबार

व्यावहारिक शिक्षामा जोड : सुर्खेतको सयपत्री एकेडेमीको नमुना अभ्यास

blog

सुर्खेतको सयपत्री एकेडेमीका विद्यार्थी । तस्बिरः प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, चैत १५ गते । वीरेन्द्रनगर नगरपालिका–२, सिम्लेमा रहेको सयपत्री एकेडेमीले परम्परागत पाठ्यक्रमसँगै व्यावहारिक शिक्षालाई जोड दिँदै विद्यार्थीलाई जीवनोपयोगी सिप सिकाउँदै आएको छ । विद्यालयले हरेक शुक्रबार अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्ने अभियान सञ्चालन गरिरहेको हो ।

विद्यालयले विद्यार्थीलाई दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विभिन्न सिप सिकाइरहेको छ । विद्यालयमै लुगा धुने, सिउने, सरसफाइ गर्ने, लुगा पट्याउने तथा जुत्ता–चप्पल मिलाएर राख्ने जस्ता आधारभूत व्यावहारिक ज्ञान कक्षाकोठामै दिने गरिएको छ ।

कृषि शिक्षालाई पनि विद्यालयले विशेष प्राथमिकता दिएको छ । विद्यार्थीलाई बारी तयार गर्ने, धान रोप्ने, गोड्ने, काट्ने, तरकारी लगाउने र धान मिलमा लगेर कुटाउनेसम्मको सम्पूर्ण सिप सिकाइने गरिएको छ । यसरी उत्पादन गरिएको चामलबाट विद्यार्थीलाई भात पकाएर खुवाउने अभ्यासले सिकाइलाई अझ व्यावहारिक बनाएको छ । साथै, तरकारी तथा फलफूल खेतीबारे पनि विद्यार्थीलाई प्रत्यक्ष अनुभव गराइँदै आएको छ ।

विद्यालयमै हाँसपालन र मौरीपालन सम्बन्धी तालिमसमेत विद्यार्थीलाई दिइँदै आएको छ, जसले उनीहरूलाई कृषि तथा पशुपालनतर्फ आकर्षित गरेको छ । विद्यालयका सञ्चालक रामप्रसाद बरालले विद्यालयले प्रत्येक महिनाको अन्तिम दिन ‘कृषि तथा व्यापारिक मेला’ आयोजना गर्ने गरेको बताउनुभयो । उक्त मेलामा विद्यार्थीले घरमै उत्पादन गरेका सामग्री ल्याएर बिक्री गर्ने गर्छन् । यसबाट उनीमा उद्यमशीलता र व्यापारिक सिपको विकास भइरहेको सञ्चालक बरालको भनाइ छ ।