विष्णुप्रसाद पोखरेल
दमक, फागुन २४ गते । झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर विजयी हुनुभएको छ।
उहाँले निवर्तमान सभामुख समेत रहनुभएका नेकपा (एमाले) का उम्मेदवार देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गर्नुभएको हो।
निर्वाचन अधिकृतको कार्यालय झापा–२ का अनुसार विजयी निवर्तमान उपसभामुख राना मगरले ६० हजार ११० मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभएको छ।
यसैगरी, श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी ७ हजार २९१ मतसहित तेस्रो स्थानमा रहनुभएको छ। नेपाली कांग्रेसकी सरिता प्रसाईँले ५ हजार ६१६ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।
अघिल्लो प्रतिनिधिसभामा रास्वपाबाट समानुपातिक प्रणालीमार्फत सांसद बनेर उपसभामुखको जिम्मेवारी सम्हाल्नु भएकी मगरको प्रत्यक्षतर्फ यो पहिलो जित हो।