• २४ फागुन २०८२, आइतबार

बारा क्षेत्र–२ बाट चन्दन सिंह निर्वाचित

blog

प्रतिनिधिसभा सदस्यमा निर्वाचित चन्दन सिंह ।

शिवशंकर मिश्र

कलैया, फागुन २४ गते । बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा रास्वपाले जिल्लाका सबै क्षेत्रमा उल्लेखनीय राजनीतिक सफलता प्राप्त गरेको हो।

बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार चन्दन सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार सिंहले ३५ हजार ५९० मत प्राप्त गरी फराकिलो मतान्तरका साथ विजय हासिल गर्नुभएको हो।

उहाँका निकटतम प्रतिस्पर्धी राजपाका उम्मेदवार रामकिशोरप्रसाद यादवले १४ हजार १९६ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भैयारामप्रसाद यादव ११ हजार ८३७ मतका साथ तेस्रो स्थानमा सीमित हुनुभएको छ।

यसअघि सार्वजनिक मतपरिणाम अनुसार बारा निर्वाचन क्षेत्र नम्बर–१ बाट रास्वपाका गणेश धिमाल, क्षेत्र नम्बर–३ बाट अरविन्द साह र क्षेत्र नम्बर–४ बाट रहवर अन्सारी विजयी भइसक्नुभएको छ। चारै क्षेत्रमा विजय हासिल गरेसँगै बारामा रास्वपाले आफ्नो प्रभाव बलियो बनाएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार बारामा रास्वपाको यो 'क्लिन स्विप' ले जिल्लाको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको छ। मतदातामाझ देखिएको यो समर्थनले आगामी दिनमा जिल्लाको राजनीतिक दिशा निर्धारणमा समेत महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।