बाजुरा समाचारदाता
बाजुरा, फागुन २४ गते । बाजुराको दुर्गमका किसानको स्याउ खेतीमा आकर्षण बढ्दै गएको छ । जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ र बुढीनन्दाका अधिकांश किसानले पछिल्लो समय स्याउ खेती गर्न थालेका छन् । यहाँका स्थानीय सरकारले पछिल्लो समय अधिकांश गाउँबस्ती सडक सञ्जालमा जोडिदिएसँगै किसानको पनि स्याउ खेतीमा आकर्षण बढ्दै गएको हो ।
बुढीनन्दा नगरपालिका–८ का चक्रकठायतले स्याउ खेतीले जीविकोपार्जनमा सहज हुने देखिएपछि आफूले समूहबाट ऋण निकालेर खेती गर्ने जमिनमा स्याउ खेती सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्य खेती गर्दा बाँदर, भालु, बँदेलले सबै सखाप पार्छ । त्यसैले त्यो ठाउँमा स्याउ खेती सुरु गरिएको हो । पहिलो वर्ष मैले पाँच सय बोट लगाएको थिएँ । त्यसपछि दुई हजार बोट फेरि लगाएको छु । अहिले मेरो बगैँचामा झन्डै दुई हजार पाँच सय बोट स्याउ छन् ।”
पहिला गाउँमा सडक थिएन र खच्चडमा ढुवानी गर्दा बिक्री गर्न समस्या हुन्थ्यो भन्दै कठायतले अहिले गाउँमै बाटो पुगेपछि आफू स्याउ व्यवसायमा लागेको बताउनुभयो ।
कठायतले लगाएका स्याउ यतिबेला सबै फल्न थालेका छन् । यहाँ भदौदेखि असोजसम्म स्याउ पाक्न सुरु हुन्छ । यहाँका सबै स्याउ एकै पटक पाक्ने भएकाले किसानलाई ती स्याउ बजारमा बिक्री गर्न समस्या हुन्छ । यसका लागि यहाँ चिस्यान केन्द्र स्थापना गर्नु अति आवश्यक छ तर अहिलेसम्म चिस्यान केन्द्र स्थापना भएको छैन । स्याउ स्टोर हुने गरी चिस्यान केन्द्र स्थापना हुने हो भने किसानलाई पछिसम्म स्याउ भण्डारण गर्न सहज हुने किसानको माग छ ।
बाजुरामा १७० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ । यहाँ एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुन्छ । यहाँ फुजी, गाला र गोल्डेन जातको स्याउ उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताउनुभयो ।