नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २४ गते । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ । ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको र २२ जना बुर्तिबाङ अस्पतालमा भर्ना भएर उपचाररत भएकाले थप सर्तकता अपनाउनका लागि आगमी २७ गतेसम्म बिद्यालय बन्द गरिएको ढोरपाटन नगरपालिकाका नगर शिक्षा अधिकारी पुष्पक दाहालले जानकारी दिनुभयो ।
दादुराको सङ्क्रमण बढेकाले ढोरपाटना सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । स्वास्थ्यकर्मीहरूले सङ्कलन गरेको ५ वटा स्वाब परीक्षण गर्दा दादुरा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । साथै करिब ५० जना बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ ।
सङ्क्रमण थप फैलिन नदिन नगरपालिकाको स्थानीय द्रुत प्रतिक्रिया समितिको मिति २०८२ फागुन २३ गतेको निर्णयअनुसार विद्यालय बन्द गरिएको हो ।
निर्णयअनुसार मिति २०८२ फागुन २५ गतेदेखि २७ गतेसम्म तीन दिनका लागि नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने जनाइएको छ । नगरपालिकाले अभिभावक तथा विद्यार्थीलाई स्वास्थ्य सतर्कता अपनाउन र सङ्क्रमणबाट जोगिन आवश्यक सावधानी अपनाउन पनि आग्रह गरेको छ ।