• ८ मंसिर २०८१, शनिबार

चौतारो (कविता)

blog

म चौतारो हुँ

वर्तमानमा हाँस

अतीतको सुस्केरा मार

भविष्य केलाउ

मनको मैलो यही बसेर सेलाउ ।


तिम्रा ठट्यौली गफ

मनका क्रन्दन

मरेका रहर

देखेका सपना

कसैले नसुने पनि

म चुपचाप सुनौँला

आउ बस मेरै समीपमा

लाउ मिठो प्रीत

नमास मलाई

नमेट मेरो अस्तित्व

जड छु, संरक्षक तिमी स्वयम् हौ

तिम्रो चेतना मेरो जीवन हो

तिम्रो माया मेरो अस्तित्व हो !

ममा वर्ग भेद छैन

अत्तरको बासना पनि निलौँला

पसिनाका थोपा पनि चुपचाप सहौँला

आउ न तिमी र म एकै भएर मिलौँला ।


मलाई डर छ, कतै आधुनिकताको घुम्टो ओडेर

मेरो अस्तित्व नामेट त पार्ने होइनौ ?

लानै छ भने मबाट मेरो समभावलाई टिपेर लैजाउ

बाँड बेनामी मनमुटुहरूलाई

अनि निम्ट्याउ तेरो र मेरो बिचको विभेदलाई ।


म नेपाली संस्कृति र सभ्यताको धरोहर

आफन्तहरूको यादको स्मारक हुँ ।

हो, म चौतारो हुँ

लाउ मिठो प्रीत

बस मेरै समीप ।