दुई जना बूढाबूढी छौँ घरमा
मिलेर चुलोचौको गर्छौं
बिहान–
च-यापचुरुप ! केही चपायो – पुगिहाल्छ
एक मुठ्ठी तातो प्युन पाए
साँझको आवश्यकता टरिहाल्छ ।
अरूबेला खासै त्यस्तो केही लाग्दैन
कहिलेकाहीँ–
जब उसको छाती दुख्छ
अनायासै मेरो रक्तचाप बढ्न थाल्छ
कुनै बेला
जब खोकीले मलाई सताउँछ
अनायासै उसको अनुहारमा बादल बस्न थाल्छ
सकेसम्म आफ्नो अप्ठ्यारो
एक–अर्कोबाट लुकाउने हामी दुवैको बानी छ ।
पहिले पहिले
हामीभन्दा अघि नै रात निदाई सक्थ्यो
अचेल उसको पनि स्वभाव फेरिएको छ
हामी पीरले पहेँलिएको बेला
जाग्राम बस्छ यो पनि हामीसँगै
र, लाग्छ–
हाम्रै जस्तो यसको आँखामा पनि
बग्न नसकेको पानी छ ।