• ८ मंसिर २०८१, शनिबार

मान्छे (कविता)

blog

साँच्चै उच्च प्रवीण सभ्य पनको, उद्देश्य उम्दा थियो

पुर्खा  पौरख  गर्दथे  गजबले, निर्माण  राम्रो  थियोे ।

गर्थे उच्च विकासका प्रगतिका, नौला अनौठा कुरा

रच्थे  रे  पुर  व्योममा  प्रविधिले, निर्माणका टाकुरा ।


अग्ला ती मयराज दानवहरू, हुन्थे पहाडै सरि 

उम्दा सुन्दर टाकुरा गगनमा, निर्माण गर्थे अरि ।

मोती रत्न मुगा र पत्थर हीरा, जम्मा गरी बेसरी 

रच्दो भो मयले नयाँ पुरहरू, छक्कै परे श्रीहरि ।


हालै मानिस अन्तरिक्षतिरमा, छन् खोज सन्धानमा 

नौलो पुर बनाउने प्रविधिमा, छन् व्यस्त निर्माणमा ।

राम्रो भव्य विकासको प्रविधिको, सङ्घर्ष गर्ने भए 

जागून् आाज विचारले मगजले, ज्ञानी गुनी सञ्जय ।


पुर्खाका नव कर्म अक्कल कला, राखून् सदा माथमा 

ती वैज्ञानिक प्राज्ञ छन् प्रखर छन्, छन् व्यस्त सन्धानमा ।

भन्छन् मानिस चार छन् युगहरू, घुम्छन् सधैँ चक्रझैँ 

लागून् विज्ञ विकासका पहलमा, धर्ती बनोस् स्वर्गझैँ ।


जन्मून् अर्जुन कृष्ण राम वसुजी, सीता उमा पार्वती 

अर्को विश्व जमातका नरहरू,  गर्लान्  उँचो  सम्मति ।

हाम्रा द्रोण वशिष्ठ व्यास मुनि हुन्, सञ्जीवनीका धनी 

लिन्थे चाख अरू नयाँ अवनिका, नौला कथा जीवनी ।


यस्तो गौरवपूर्ण चिन्तन कला,  राखेर  मस्तिष्कमा 

जन्मून् विज्ञ हजार लाख थलमा, नेपाल यो देशमा ।

जागून् सन्तति  ज्ञानले  मगजले, विज्ञानका रागले 

बाँचोस् सत्य विचार यो भुवनमा, उत्सर्गका भावले ।