• ११ असार २०८१, मङ्गलबार

मुख्य सडकका खाल्डाखुल्डी तत्कालै पुरिनेछ: सडक डिभिजन

blog

विष्णु पाण्डेय

काठमाडौैँ, मङ्सिर २९ गते । काठमाडौंका मुख्य सडकमा देखिएका खाल्डाखुल्डी तत्कालै पुरिँदै आएको सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय काठमाडौँले बताएको छ । डिभिजनका इन्जिनियर हरि ठकुरीले दिएको जानकारीअनुसार काठमाडौंका मुख्य सडकमा देखिएका खाल्डाखुल्डीहरू तत्कालै पुरिएको र केही ठाउँका सडकमा देखिएका खाल्डाखुल्डी पुर्न ठेक्का लगाउन प्रक्रिया चलिरहेको छ ।

नयाँ बानेश्वर, तीनकुने, पुरानो बानेश्वर, थापाथली, नक्साल भगवती, कपनलगायतका क्षेत्रमा बाटोको कालोपत्रे समेत भइसकेको उहाँको भनाइ छ । सडक डिभिजनले नभ्याउने र क्षमताभन्दा बाहिरको क्षेत्रको खाल्डाखुल्डी पुर्न ठेक्का आह्वान गरिएको ठकुरीले बताउनुभयो ।

नयाँबानेश्वर क्षेत्रमा मेलम्ची खानेपानी पुन मर्मत हुँदा खनेको सडकलाई कालो पत्रे गर्न तयार पारिएको सडक । तस्बिर: केशब गुरुङ

सोह्रखुट्टेदेखि बालाजुसम्मको सडकमा देखिएका खाल्डाखुल्डी पुर्नका लागि ठेक्का आह्वान गर्ने प्रक्रिया चलिरहेकाले त्यस क्षेत्रको खाल्डाखुल्डी विभागले नपुरेको उहाँको भनाइ छ ।

ठेक्का लागिसकेपछि कम्पनीले यो क्षेत्रमा रहेको खाल्डाखुल्डी तत्काल पुर्ने आश्वासन दिएको डिभिजनका प्रवक्ता केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौंका मुख्य सडकमा देखिएका खाल्डाखुल्डी तत्कालै पुरिँदै आइएको छ । कहिँकतै बाँकी रहेका खाल्डाखुल्डी पनि बिस्तारै पुरिँदै जानेछौँ । सोह्रखुट्टे बालाजु क्षेत्रमा भने ठेक्का लगाउने प्रक्रिया चलिरहेको छ ।’

शान्तिनगर क्षेत्रमा खानेपानीको पाइपबाट बगेको पानीले खाल्डा परेको सडक । 

बुधबार बत्तीसपुतली क्षेत्रमा सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने काम भइरहेको ठकुरीले बताउनुभयो । विद्युत तारका कारण खाल्डाखुल्डी बढ्यो बिजुलीका तार भूमिगत गर्दा धेरै ठाउँमा खाल्डाखुल्डी बढेको सडक डिभिजन कार्यालय काठमाडौँका इन्जिनियर हरि ठकुरीले बताउनुभयो ।

काठमाडौंको तीनकुनेमा मेटिएको जेब्रा क्रस ।

ठकुरीले भन्नुभयो, ‘नेपाल विद्युत प्राधिकरणले तारहरू भूमिगत गर्दा धेरै ठाउँमा खन्नुपर्ने र तत्काल नै नपुर्ने गरेका कारण धेरै ठाउँमा खाल्डाहरू देखिने गरेका छन् ।’

केही क्षेत्रमा अघिल्लो दिन सडकका खाल्डा पुरिने तर अर्को दिन नै तार, ढल तथा पानीका पाइपहरू पुर्नका लागि खाडल खनेर राम्रोसँग नपुर्ने गरेका कारण खाडलहरू धेरै देखिने गरेको उहाँको भनाइ छ ।

सडकका जेब्रा क्रसिङ् पनि मर्मत गरिने

काठमाडौंमा अहिले धेरै ठाउँका जेब्रा क्रसिङ् मेटिएर नदेखिने भएका छन् । जसका कारण यात्रुलाई सडक वारपार गर्न नै समस्या भइरहेको छ । सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर हरि ठकुरीका अनुसार धेरै समयदेखि मर्मत हुन नसकेका जेब्रा क्रसिङ्काे मर्मत सम्भार तथा रेखाङ्कन गर्नका लागि ठेक्का लगाउने काम भइरहेको बताउनुभयो ।

मिनभवन क्षेत्रमा मेटिन थालेको जेब्रा क्रस र उप्किन थालेको कालो पत्रे सडक ।

जेब्रा क्रसिङ्को मर्मत गर्न तिहार अघि एक कम्पनीसँग सात लाखमा ठेक्का लागेको थियो । उक्त कम्पनीले एक दुई दिनभित्र पुतलीसडकबाट काम सुरु गर्ने उहाँले बताउनुभयो ।

अर्को कम्पनीसँग पनि २५ लाख रुपियाँ ठेक्का सम्झौताको लागि प्रक्रिया अघि बढेको छ । केही दिनमै यो ठेक्का लागेपछि ठेकेदार कम्पनीले काम सुरु गर्ने उहाँको भनाइ छ । सडक डिभिजन कार्यालय काठमाडौँसँग बजेटको समस्या भएकाले तोकिएको समयमा निर्धारित कामहरु सम्पन्न गर्न नसकिएको डिभिजन कार्यालयले जनाएको छ ।

तस्बिर–केशब गुरुङ

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।