• १२ असोज २०८१, शनिबार

मल विना गहुँ छर्दै सुनसरीका किसान

blog

सुनसरीको इनरुवा नगरपालिकाको वडा नम्बर ९ कार्यालय अगाडि मलको लागि आएका किसानहरु । तस्विर - जयकृष्ण यादव । इनरुवा

जयकृष्ण यादव 

इनरुवा, मङ्सिर २८ गते । सुनसरीमा धानबालीपछिको दोस्रो बालीको रूपमा लगाउँदै आएको गहुँ छर्ने ऋतु सकिन लागेको छ तर बजारमा मल नपाएपछि किसानले बाध्य भएर मल विना नै गहुँ छर्ने काम सुरु गरेका छन् । धान भित्र्याइसकेको एक महिना भइसक्दा पनि अहिले जिल्ला सदरमुकाम इनरुवा र ग्रामीण क्षेत्रका बजारमा मल नपाएपछि पूर्ण रूपमा गहुँ छर्न नपाएको किसानहरूले गुनासो गरेका छन् ।

इनरुवा नगरपालिका ९ का किसान दीपेन्द्र यादवले गहुँ छर्ने मुख्य ऋतु सुरु भएर सकिन लाग्दासमेत बजारमा मल आइनसकेकाले गहुँ लगाउने नलगाउने दोधारमा परेको दुःखेसो पोख्नुभयो । यादवले धान काटेर खेत खाली भएको महिना लाग्दा समेत बजारमा मल नपाउँदा मल विनाको बाली राम्रो नहुने हो कि भन्ने चिन्ता लागेको सुनाउनुभयो । 

अर्का किसान फेकुलाल यादवले अधियाँमा एक बिघा खेती गर्दै आएकोमा गहुँको बीउमा डिएसपी र पोटास मिसाएर छर्ने योजना बनाए पनि गाउँको सहकारी र बजारका पसलमा मल नहुँदा मल विना नै गहुँ छर्नुभएको छ । यादवले आफू जस्तै हजारौँ किसानले डीएपी, पोटास र युरिया मलको अभाव खेप्नुपरेको गुनासो गर्नुभयो ।

नेपाली बजारमा मल नपाएपछि सीमावर्ती दक्षिणीवर्ती गाउँका किसानले भारतबाट तस्करीका गुणस्तरहीन मल प्रयोग गर्न बाध्य भएका छन् । सुनसरीको हरिनगर गाउँपालिका–२ का किसान विनोद बहरदार, भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहाका किसान सुरेन्द्र मेहता, कोसी गाउँपालिका–३ का किसान हरिलाल यादवले मल नपाएकाले किसान समस्यामा परेको बताउनुभयो ।

जिल्लामा ८१ हजार ९४४  हेक्टर जग्गा खेतीयोग्य रहेकोमा २० हजार हेक्टरमा गहुँ खेती हुँदै आएको छ ।